डोल्पाली स्याउमा बिचाैलिया: बिक्रीको चिन्ताले काँचै स्याउ ३० रुपैयाँमा बेच्न बाध्य

हिमाली जिल्ला डोल्पाका बस्तीहरुमा यतिखेर लटलरम्म स्याउ फलेका छन्। स्याउको सिजन सुरुभएसँगै बोटै नुघ्ने गरी फलेका स्याउले डोल्पाका गाउँबस्ती रंगिएका हुन्।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा न ३ पर्ने सुँजिँउ र वडा नं ४ मा पर्ने रंगमा कृषकहरुले व्यवसायिक रुपमा स्याउ खेती गर्दै आएका छन्।
त्रिपुरासुन्दरी सँगै ठुलिभेरी नगरपालिकामा पनि व्यवसायिक स्याउ खेती गरिँदै आएको छ।

वडा नं ७ मा पर्ने जुफाल,८ र ९ मा पर्ने डाँगीबाडा वडा नं ४,५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गर्दछ।

स्याउ राम्रोसँग नपाक्दै डोल्पाली स्याउ कृषकहरुले पचास प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

बजारको अभावमा प्रत्येक वर्ष कृषकहरुले उत्पादन गरेजतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ बिचौलिया व्यापारीहरुलाई प्रतिकिलो २० देखि ३० रुपैयाँ बेच्न बाध्य भएका हुन्।

जिल्लामै स्याउको राजधानीको रुपमा परिचित रंग गाउँमा एक घर एक स्याउ बगैँचा छ। प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरेपनि व्यापारीले पनि सबै नकिन्ने कृषकहरुको गुनासो छ।

डोल्पाका स्याउ बगानहरुमा तीन वर्ष यतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट स्याउ किन्न व्यापारीहरु घरमै पुग्ने गरेका छन्।

पछि बिक्री नहुने चिन्ताले राम्रोसँग नपाक्दै प्रतिकिलो २० देखि ३० रुपैयाँमा स्याउ किन्नका लागि बोटमै बिचौलिया व्यापारी आइपुग्ने रंगाली कृषकहरुले बताए।

बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायतकाको कारणले नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताए।

‘स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ,तर व्यापारीहरु कृषकहरुको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्,कृषहरु बाध्य भएरमात्र बीस देखि तीस रुपैयाँमा स्याउ बगैँचा जिम्मा लाउन बाध्यहुनुपर्छ’, उनले दुखेसो पोखे।

‘राम्रो पाकेको स्याउको स्वादै मिठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडाैँलगायतका सहरमा प्रतिकिलो दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्’, उनले थपे।

अर्का कृषक रुद्रि बुढाले यस वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको दुखेसो पोखे। ‘मेरो बँगैचामा तीन सय बोट स्याउ छ, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसकेँ’, बुढाले थपे।

‘व्यापारीले बोटमै प्रतिकिलो पचास रुपैयाँ किलोसम्म पाए कृषकहरुलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा तीस रुपैयाँभन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बिक्री गर्न समस्या हुन्छ’, उनले दुखेसो पोखे।

बिचौलिया व्यापारीहरुले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उनको भनाइ छ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकहरुले दुखेसो पोखे।

नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकहरुको समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

त्यसैगरी वडा नं ३ जिँउका कृषक रामबहादुर गुरुङ्गले पनि तीन सय बोट स्याउ रोपेका छन्। उनको बगैँचामा प्रत्येक वर्ष ३० क्विन्टलसम्म स्याउ फल्ने गर्छ। तर उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ।

‘बगैँचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठुलो बजार छैन, जिल्ला बाहिरका बजारमा लैजाउँ भने कच्ची बाटो र ठाउँ ठाउँमा पुल नहुँदा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ’, उनले भने।

‘डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए बर्सेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकहरुले कमाउँथे, जिल्ला बाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्, तर भने जतिको मूल्य नपाइने भएकाले बिक्री गरेको छैन’, उनले थपे।

सोही गाउँका स्याउ कृषक जसमान केसीले पनि ७ रोपनी क्षेत्रमा स्याउ लगाएका छन्। उनलाई पनि उत्पादन भएको सबै स्याउ बिक्रीको चिन्ता छ।

गाउँका धेरैजसो कृषकले २० देखि ३० रुपैयाँ मूल्यमा काँचै स्याउ बिक्री गरेपनि आफूले बिक्री नगरेको उनले बताए।

कृषकहरुले वर्षभरि दुख गरेर उत्पादन गरेको स्याउ राम्रोसँग पाकेपछि भदौ अन्मिमा मात्र बेच्न पाउने समय निर्धारण गरी मूल्य तोकिदिएको भए धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ का अध्यक्ष रञ्जित बुढाले बताए।

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र बिचौलिया व्यापारी फाइदामा भएको उनको भनाइ छ।

उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाबाट सिधा नेपालगञ्ज, सुर्खेतसम्म सिधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषकहरु सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ।

डोल्पामा चार सय बाह्र हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष ३ हजार २ सय ९६ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।

त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री वितरणमा रोक लगाउन भनेपनि चासो नदिएको उनको भनाइ छ।

यस वर्षबाट त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ पचास पैसा ढुवानीकर लगाउन सुरु गरेको छ। डोल्पा स्थानीय जातको रेड, गोल्डेन स्याउ उत्पादन हुने गर्दछ।

प्रकाशित मिति: : 2023-08-25 17:46:00

प्रतिकृया दिनुहोस्