सेनाका मेजर सम्पर्कविहीन, पसलमा मागेका थिए डाेरी

हिमाली जिल्ला डाेल्पामा कार्यरत नेपाली सेनाका मेजर सम्पर्कविहीन भएका छन्।

सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका मेजर विमल पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।

मेजर पण्डित एक्लै दुनैबाट पश्चिमतिर पर्ने त्रिपुराकाेट हिँडेकाे र त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिएका छन्।

हिजाे साँझदेखि नै नेपाल आर्मी, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीले व्यापक खाेजी गरेपनि पत्ता लाग्न नसकेको उनले बताएका छन्।

प्रहरीका अनुसार मेजर पण्डित आइतबार साँझ एउटा सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकाेट पुगेकाे र त्रिपुराकाेटस्थित नरलाल राेकायकाे पसलमा पुगी 'फाेन–पे'मार्फत् २६ हजार रकम हाल्दिएर क्यास फिर्ता मागेका थिए।

काठमाडौँ स्थायी घर भएका मेजर पण्डितले आफू सिटिजन्स बैंककाे नयाँ कर्मचारी भनेर बताएकाे र आफूले बैंकका सबै कर्मचारी चिन्छु भन्दा आलटाल गरेर पसलबाट निस्केकाे व्यापारी राेकायले बताएका छन्।

त्यसपछि उनी त्रिपुरासुन्दरी–१० मा पर्ने लिकुतर्फ गएका थिए। लिकुतर्फ हिँडेकाे १० मिनेटमै पुन: फर्केर चुँगार्ड भन्ने ठाउँमा रहेकाे एक पसलमा डाेरी मागेकाे र डाेरी नभएको बताएपछि उनी त्यहाँबाट हिँडेकाे बुझिएको छ।

मेजर पण्डित कमै मात्रामा बाेल्ने, त्यस्ताे मानसिक समस्या नभएकाे व्यक्ति भएकाे उनलाई चिन्नेहरू बताउँछन्। सबै सुरक्षा संयन्त्र परिचालन गरेर उनकाे व्यापक खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-28 15:11:00

प्रतिकृया दिनुहोस्