६० किलो सुन अनुसन्धान: पक्राउ परेका खरेलमार्फत उघ्रिनेछ तस्करीको अर्को ‘लेयर’

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अब अनुसन्धानकाे फाइल बुझाउने अन्तिम चरणको तयारी थालेको छ।

सम्भवत: एक साताभित्र उसले आफ्नो अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाउनेछ। त्यसका लागि सिआइबीले पक्राउ परेकाहरूसँगको अब ‘सार्थक’ र निर्णायक बयान थालेको छ।



सुन प्रकरण: पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियाे बयान

सय किलो भनिएको सुनको परिणाम ६० केजी मात्रै

यो सुन तस्करीमा जाेडिएका केही चिनियाँ नागरिकसहित २७ जनालाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छ। यसका मुख्य योजनाकारका रूपमा चिनाइएका सुमन खरेललाई पनि प्रहरीले केही दिनअघि भारतबाट समाएर ल्याएको थियो।

अनुसन्धानमा खटिएको प्रहरीका लागि खरेल एउटा त्यस्तो सूत्र भएका छन्, जसले यो सुन तस्करी अनुसन्धानको ‘जरै’सम्म पुग्न सघाउनेछ।

अनुसन्धान स्रोतका अनुसार अहिलेसम्म हङकङबाट मोटरसाइकलको ‘ब्रेक शु’मा ल्याइएको त्यो सुन चिनियाँ नागरिकको खटनपटनमा खरेललाई नै बुझाउने तयारी थियो। प्रहरीसँगको बयानमा ती चिनियाँ नागरिकले यसअघि पनि खरेललाई त्यस्ता तस्करीका सुन बुझाउने गरेको तथ्य खुलाएका थिए।

‘अब खरेलसँगको निर्णायक बयानमा पनि त्यो कुरा खुल्नेछ। अहिलेसम्म सुन कहाँ जान्छ र कसले लैजान्छ वा कहाँ दिइन्छ भन्ने कुराहरू खुलेका थिएनन्’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘अब ती कुराहरू पनि खुल्नेछन्। हामीलाई पूरा विश्वास छ।’

पक्राउ परेका ती चिनियाँ नागरिकले यसरी ल्याइएको सुन पगालेर त्यसपछिमात्रै खरेलसम्म पुर्‍याउने गरिएको बयानमा भनेका छन्। प्रहरीले काठमाडौँ छेउछाउमा त्यस्ता सुन पगाल्ने फ्याक्ट्रीहरू नै भेटाएको थियो।

अनुसन्धानकै क्रममा तिब्बती मुलका एकजना बेल्जियम नागरिक दावा छिरिङ पक्राउ परेपछि खरेल भारत पुगेर लुकेर बसेका थिए। दावा पक्राउ परेपछि उनीबाट बरामद गरेका इलेक्ट्रिक डिभाइसहरू तथा अरु प्रमाणका आधारमा सिआइबी खरेलसम्म पुगेको थियो।

यो सुन तस्करीको अनुसन्धानमा अघिल्ला प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी जनशक्तिलाई समेट खटाइएको थियो।

खरेलकै माध्यमबाट अब यो अनुसन्धानलाई टुङ्ग्याउने सिआइबीको तयारी छ। एउटा अर्को ‘ग्राउण्ड लेयर’ सम्म पुग्न प्रहरी अनुसन्धानको अपेक्षा छ।

‘खरेल पक्राउ पर्नु भनेको एक ग्राउण्डको लेयर आउनु हो, अहिलेसम्म सुन आयो तर कहाँ गयो र कसले लियो? भन्ने खुलेको थिएन’, एक अनुसन्धान अधिकारीले भने, ‘तर खरेलबाट यो कुरा खुल्छ, खरेलले कहाँ लिए र कसलाई सुन दिन्छन् भन्ने कुरा खुल्ने पक्का छ, यो हुनासाथ अनुसन्धानले एकखाले सार्थकता पाउनेछ भन्ने हाम्रो अपेक्षा हो।’

खरेल पक्राउ परेपछि प्रहरीको यो अनुसन्धान पनि लगभग सफलतातिर पुग्न थालेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। ‘हामीले एकदमै गम्भीर तरिकाले अनुसन्धान गरेका छौँ। हामी चाँडै नै सफलतामा पुग्नेछौँ’, उनले भनिन्, ‘त्यो कुरा तपाईंहरूले पनि छिट्टै नै थाहा पाउनुहुनेछ।’

अध्यागमनका डिजीदेखि उपराष्ट्रपतिका छोरासहित १०० बढीको बयान

६० किलो तस्करीको सुन प्रकरणमा अध्यागमन विभागका निर्देशक झलकराम अधिकारीलाई सिआइबीले बयान लिएको छ। पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध देखिएपछि केही दिनअघि सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो।

त्यसैगरी उपराष्ट्रपतिका छोरा दिपेश पुनसहित तत्कालीन विमानस्थल भन्सार प्रमुखसहित अहिलेसम्म लगभग सयभन्दा धेरै व्यक्तिसँग सिआइबीले बयान लिइसकेको छ।

गत साउन ३ गते हङकङबाट आएको सुन राजश्व अनुसन्धान विभागले विमानस्थलबाट बाहिरिने क्रममा समाएको थियो। सुरुमा सय किलोभन्दा धेरै भनिएको सुन राष्ट्र बैंकले पगालेर जोख्दा करिब ६० किलोमात्रै भएको थियो। 

प्रकाशित मिति: : 2023-09-05 20:52:00

प्रतिकृया दिनुहोस्