काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने २९ वर्षीय मिलन श्रेष्ठ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार काठमाडौं महानगरपालिका–२२ न्युरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा उक्त क्षेत्रमा खटिएको विशेष प्रहरी टोलीले ८० थान मोबाइल र बा१९च ५०९४ नंको सेतो रङ्गको फोर्ड कम्पनीको इकोस्पोर्ट गाडीसहित पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
पक्राउ परेका व्यक्ति तथा सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।