ॐ शब्दलाई शब्दकोषबाट हटाएको भन्ने प्रचारवाजीप्रति दीनानाथकाे आपत्ति

फाइल तस्बिर
फाइल तस्बिर

पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्दलाई शब्दकोषबाट हटाएको भन्ने प्रचारवाजीप्रति गम्भीर आपत्ति जनाएका छन्। 

शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी भएको टिप्पणी गरेका हुन्। 

शर्माले आफ्नो कार्यकालमा त्यसप्रकारको कुनै निर्ण नभएको स्पष्ट पारेका छ्न। उनले भनेका छन्, ‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन। वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।'

शर्माले संघीयता विरोधी अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काइरहेको भन्दै सचेत हुन आग्रह समेत गरेका छन्। 

उनले भनेका छन्, ‘संघीयता विरोधी केही अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2023-10-03 17:17:00

प्रतिकृया दिनुहोस्