अमेरिकामा रिपब्लिकन अन्तरपार्टी संघर्ष उत्कर्षमा, हटाइए सभामुख म्याकर्थी

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदबाट हटाइएका छन्। संसदमा भएको एक ऐतिहासिक मतदानमा उनको विपक्षमा २१६ र पक्षमा २१० मत परेपछि उनले पदबाट हट्नुपर्यो। अमेरिकाकै इतिहासमा यसरी हटाइएका उनी पहिलो सभामुख हुन्।

रिपब्लिकनहरूको झिनो बहुमत रहेको संसदमा ट्रम्प पक्षधर दक्षिणपन्थी ८ जना सांसद एन्डी बिग्स, केन बक, टिम बुर्केट, एली क्रेन, म्याट गेज, बब गुड, नान्सी मेस र म्याट रोसन्डेलले सभामुख म्याकर्थीको पक्षमा मतदान नगरेपछि उनी बाहिरिए। डेमोक्रेटसहरूले पार्टी लाइनकै आधारमा म्याकर्थीको विपक्षमा मतदान गरेका थिए।

केही दिनअगाडि म्याकर्थीले डेमोक्रेट्सहरूको सहयोगले बजेट विधेयक पारित गरेर अमेरिकी सरकार सट डाउन हुनबाट बचाएका थिए। सभामुखको यो कदम पूर्वराष्ट्रपति ट्रम्प र उनी समर्थक म्याट गेजलगायतका दक्षिणपन्थी रिपब्लिकनलाई मन परेको थिएन। त्यसैको बदला लिन गेजले सभामुखले बहुमत सावित गर्नुपर्ने प्रस्ताव दर्ता गरेका थिए।

रिपब्लिकनहरूको आन्तरिक शक्ति संघर्षका कारण सिर्जना भएको यो परिस्थितिको समाधान कसरी हुन्छ?, यसै भन्न सकिने अवस्था छैन।

केभिन म्याकर्थी २७९ दिनमात्र सभामुख भए। यो अमेरिकी सभामुखको दोस्रो छोटो कार्यकाल हो। सबैभन्दा छोटो कार्यकाल रहेका माइकल केर २५७ दिनका लागि सभामुख रहेका थिए। सभामुख पदमा रहेकै बेला उनको निधन भएको थियो।

अब को सभामुख चुनिन्छ? भन्न सकिन्न। डेमोक्रेट्सको बहुमत छैन, रिपब्लिकनसँग भएको झिनो बहुमत पनि ठाडो चिरा परेको छ। ठूलो चिरा अहिले पनि संसदका वरिष्ठ रिपब्लिकन सदस्य म्याकर्थीकै पक्षमा छ। तर, त्यो संख्या बहुमतका लागि पर्याप्त छैन। उनको विपक्षमा रहेका ट्रम्पवादी दक्षिणपन्थी बहुमतबाट कोशौ टाढा छन्। उनीहरूसँग म्याकर्थीलाई सभामुख हुन नदिने संख्यामात्र रहेको छ।

सभामुख म्याकर्थी पदबाट हटाइएसँगै रिपब्लिकन पार्टीको आन्तरिक पार्टी संघर्ष नयाँ उचाइमा पुगेको छ। २०२४ को आमचुनाव आउन एक वर्ष बाँकी रहेको बेला ट्र्म्प पक्षधर र विपक्षीका रूपमा पार्टी ठाडो चिरामा विभाजित हुनु रिपब्लिकन पार्टीका लागि शुभ हैन। रिपब्लिकन राष्ट्रपति उम्मेद्वारीमा अगाडि देखिएका ट्रम्पकै कारण सिर्जना भएको यो अप्रिय परिस्थितिले उनलाई पनि कुनै कोणबाट फाइदा गर्दैन।

यसैबीच डेमोक्रेट्स पार्टीले संसदलाई सभामुख दिने काम रिपब्लिकन पार्टीको भएको बताउँदै यस बिषयमा आफू तटस्थ रहने बताएको छ। डमोक्रेटसहरूको यो अडानले उनीहरूको समर्थनले म्याकर्थी नै पुन: सभामुख हुने सम्भावना पनि टरेको छ।

केभिन म्याकर्थीले पनि आफू पुन: सभामुखको उम्मेद्वार नहुने बताएका छन्। उनले आफू सभामुखबाट हटाइए पनि आफूले विश्वास गरेको अमेरिकाका लागि लडिरहने बताए।

म्याकर्थीको यो अडानसँगै उनले समर्थन गर्ने मूलधारकै कुनै रिपब्लिकन सांसद सभामुख हुने सम्भावना बढेको छ।

प्रकाशित मिति: : 2023-10-04 05:00:00

प्रतिकृया दिनुहोस्