देशकाे लागि केही गर्नुपर्छ भनेर रास्वपा छाडेँ: धर्मेन्द्र सापकोटा (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले बुधबार (असोज २२ गते) पार्टी परित्याग गरे। उनले पार्टी परित्याग मात्र गरेनन् कि आम जनता पार्टीमा प्रवेश गरे।

एक वर्ष रास्वपाको सभापति भएर जिल्लामा पार्टीलाई उठाएका सापकोटा एकाएक किन पार्टी परित्याग गर्ने अवस्थामा पुगे? रास्वपाका सभापति रवि लामिछानेको साथ छाडेर आम जनता पार्टीका अध्यक्ष प्रभु साहको साथ रोज्नुपर्ने अवस्था किन आयो? जस्ता विषयमा रहेर बिएल नेपाली सेवाका लागि ध्रुव बस्यालले सापकोटासँग कुराकानी गरेका छन्।

प्रस्तुत छ, सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी आम जनता पार्टीमा जानुपर्ने बाध्यता किन आयो?

म एक सामाजिक अभियन्ता हुँ। सामाजिक अभियन्ताको रुपमा काम गर्दा नै मलाई स्वतन्त्र मन पर्थ्याे। स्वतन्त्रको माहोल सिर्जना गर्न खोजिरहेको थिएँ, त्यहीबेला नै रवि लामिछानेले पार्टी खोलेपछि रास्वपामा लागेको हो।

मेरो जिल्ला चितवन भएपनि काठमाडौँलाई बेस बनाएर सामाजिक अभियन्ताको रुपमा राजनीति गर्ने गरिरहेको थिएँ। चुनावको बेलामा राम्रा मान्छेहरुलाई सहयोग गर्नुपर्छ भनेर रवि लामिछाने मेरो अर्दशको पात्र भएकाले उहाँको पार्टीलाई सहयोग गरेको हो।

मलाई चितवनको जिम्मेवारी दिएको थियो। चितवन धेरै नबस्ने र पार्टीको कार्यक्रममा धेरै सहभागी हुन नसक्ने भएकाले रास्वपाको नैतिक जिम्मेवारीमा बसिराख्नु उचित लागेन। त्योसँगै राष्ट्र यतिबेला जर्जर अवस्थामा गइसकेको छ, देशको लागि केही गर्नुपर्छ भन्ने मान्यताका साथ आम जनता पार्टीमा जोडिएको हुँ।

रवि लामिछाने चितवनबाट निर्वाचन लड्दा तपाईं जिम्मेवारविहीन भएकाले रास्वपा छोडेको होल्ला छ नि?

रास्वपाले निर्वाचनको बेला कुनै रोकतोक गरेको थिएन। म आफैँले टिकट बाँडेको हो। कसैलाई सोधेर भन्दापनि सहमतिमा टिकट बाँडेको हो। मलाई ३ नम्बर क्षेत्रबाट चुनावका लागि सिफारिस गरेका थिए। आफैँले चुनाव नलडेको हो।

सभापतिको राम्रो समर्थन थियो। रास्वपासँग कुनै विमती भएर होइन, काम गर्न नसकेकाले चितवनबाट कार्यविहीन भएर बसेको हुँ।

निर्वाचनको बेला रविले किन चितवन रोजेका थिए?

पत्रकारितामार्फत जनताको आवाज बोलेर लोकप्रिय हुनुहुन्थ्यो उहाँ। तर जनताको विषयमा बोल्दा एउटा आरोप लागेर कारागार बस्नुभयो। कारागार पर्दा चितवनबासीले धेरै माया गरेका थिए। त्यो मायालाई सम्मान गर्दै उहाँले चितवन रोज्नुभएको हो।

रास्वपामा तपाईंले भविष्य देख्नुभएन?

रास्वपाको भविष्य एकदमै राम्रो छ। त्यतिमात्र होइन, रविजीको भविष्य झनै राम्रो छ। तर फेरि आम जनता पार्टी रौतहतमा स्वतन्त्र रुपमा जितेर आएको पार्टी हो। रौतहतमा प्रभु साहले स्वतन्त्र रुपमा जितेकाले म पनि स्वतन्त्र अभियन्ताको रुपमा काम गरिरहेकाले काम गर्न सहजसँगै आम जनता पार्टीको विचार मन परेकाले यहाँ लागेको हुँ। अब नेपालका सारा स्वतन्त्र अभियानमा लागेकाहरु सहकार्य गरेर अगाडि बढ्ने सोचकासाथ आम जनता पार्टीमा लागेको हुँ।

आम जनता पार्टीमा लाग्नुको अन्य कारण के छन्?

प्रभु (प्रभु साह) जीसँग मेरो नयाँ सहकार्य हो। यो देशमा स्वतन्त्र उम्मेदवारहरुले परिर्वतनको आगो बाल्न सक्छन्, किनभने पार्टीको कुनै दबाब हुँदैन। स्वतन्त्र अभियानलाई सफल बनाउनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्दै आइरहेको थिएँ।

देशको अवस्था गम्भीर छ, देशमा केही न केही सक्दो रुपमा सहयोग गर्नुपर्छ। युवाहरु एकजुट बनाउनुपर्छ। अहिलेको संकटबाट देशलाई मुक्त गराउनका लागि एउटा हाँगो समात्नुपर्ने थियो। सो रुपमा प्रभु साह आएकाले उहाँको पार्टीसँग जोडिएर स्वतन्त्रहरुको एकताका लागि यहाँ जोडिएँ।

वर्षदिनमै पार्टी परिवर्तन गर्ने तपाईंलाई अवसरवादी नेता भन्न किन नमिल्ने?

हिजो रास्वपाले चितवनमा टिकट दिँदा सो अवसर ल्याउँथेँ। चुनाव लड्थेँ होला नि? लडिनँ, कुनै अवसर लिइनँ। देश बन्नुपर्छ, मलाई अवसर चाहिँदैन भनेर हिँडिरहेको छु।

आम जनता पार्टीबाट पनि मलाई कुनै अवसर ल्याउनु छैन। बस्, यो देश परिर्वतन हुनुपर्छ। युवाहरु अगाडि आउनुपर्छ। उद्यमी, आत्मनिर्भर बनौँ र समाज निमार्ण गरौँ भन्ने म कसरी अवसरवादी भए?

हिजो पनि चाहिएन, भोलि पनि चाहिँदैन। आफ्नो कामका लागि जो कसैलाई सम्पर्क गर्न सक्छु। कसैसँग केही आशा गर्ने मान्छे नै होइन। १७ वर्ष आत्मनिर्भर भएर हिँडेको छु।

मलाई कसैले जागिर लगाइदिनु पर्दैन। यो काम भन्दिनुपर्छ भन्ने छैन। आत्मनिर्भर युवा कसरी अवसरवादी भएँ? आम जनता पार्टीमा जनताको सेवा गर्न आएको हुँ।

आम जनता पार्टीमा तपाईंको जिम्मेवारी र भूमिका के हुन्छ?

अहिले आम जनता पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिएको छु। यहाँ आउँदा मेरो केही डिमाण्ड छैन, पार्टीको पक्षमा विधानअनुसार काम गर्छु। पार्टीको कुरालाई आत्मसाथ गरेर राष्ट्रका लागि काम गर्छु। 

प्रकाशित मिति: : 2023-10-13 19:00:00

प्रतिकृया दिनुहोस्