नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन्।

‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को आज भृकुटीमण्डपमा उद्घाटन गर्दै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए।

मुलुकलाई सामाजिक, आर्थिकरूपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय पुँजीको विकास गर्न निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

‘राजनीतिक परिवर्तन पछाडि नागरिकको जीवनस्तर बदलिएको अनुभूति दिलाउन वर्तमान सरकार क्रियाशील छ’, उनले भने, ‘सरकारको अभियानमा सबै क्षेत्रले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।’

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताए।

प्रकाशित मिति: : 2023-10-13 16:27:00

प्रतिकृया दिनुहोस्