गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ। सिनियर र भेट्रानमा गरी कुल नौ लाख ५ हजार नगद पुरस्कार रहेको आयोजकको भनाइ छ।

त्यस्तै जुनियरमा भने प्रोत्साहनस्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ। नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। यही कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।

प्रकाशित मिति: : 2023-10-20 16:53:00

प्रतिकृया दिनुहोस्