छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

ललितपुर र मकवानपुरबाट जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गोदावरी नगरपालिका–५ लेले बस्ने नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र महतसहित १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो।

 ​मकवानपुर, हेटौंडा उपमहानगरपालिका–७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय अजय खड्का लगायत छन्। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित बिहीबार साँझ पक्राउ गरेको हो। 

​दुवै घटनाबारे प्रहरीले अहिले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: : 2023-10-27 12:54:00

प्रतिकृया दिनुहोस्