‘नर्थल्ट १० के’ इभेन्टमा सहभागी हुन मीरा राई लण्डनमा

नेपाल रन यूकेले आयोजना गरेको ‘नर्थल्ट १० के’ इभेन्टमा सहभागी हुन अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई विशेष अथितिको रूपमा यूके आइपुगेकी छन्।

राईलाई नेपाल रन यूके टिमले शनिबार नर्थला फिल्ड पार्क रनमा स्वागत गरेको थियो।

नेपाल रनको आइतबारको नियमित अपडेटमा नर्थल्ट १० केको फिनिसर टिसर्ट र मेडल प्रमुख प्रायोजक एस्टार फाइनान्सियल सोलुसनका निर्देशक मिन दर्लामीले पहिलो पटक सार्वजनिक गर्दै संस्थाका संयोजक पाण्डव महतोलाई हस्तान्तरण गरेका थिए।

आगामी नोभेम्बर ५ तारिखमा ‘रिमेम्बरेन्स डे’ को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर रनको कार्यक्रममा ३०० जना सहभागीहरु दर्ता भइसकेको र यही बिहीबारबाट दर्ता बन्द गरिने रन डाइरेक्टर सन्तोष राईले बताए।

ए स्टार फाइनान्सियल सोलुसन यूकेको प्रमुख प्रायोजनमा नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुन लागेको उक्त इभेन्टमार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ।

समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने आयोजकले बताएका छन्। कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने बताइएको छ।

नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रवर्द्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक महतोले जनाएका छन्।

कार्यक्रमका सह प्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग, ट्राभल कन्सोल, रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेन्ट, किरांत-राई यायोख्खा, एसएनपी प्लस एकाउण्टिंग, आईएमई लण्डन, धरान समाजलगायत रहेको कोषाध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-10-30 15:44:00

प्रतिकृया दिनुहोस्