नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेपालमा धेरै मात्रामा घरेलु प्रतियोगिता हुनुपर्ने बताएका छन्।
आइतबार ओमानसँग फाइनलमा पराजित भएपछि कप्तान पौडेलले घरेलु प्रतियोगिताका लागि सरकारले कदम अघि बढाउनुपर्ने बताए।
‘हामी टी-२० विश्वकपमा पुगेको छौँ, हामीलाई सारा विश्वले हेर्ने छ’, उनले भने, ‘अब नेपालमा घरेलु प्रतियोगिता हुन धेरै आवश्यक छ। यसका लागि नेपाल सरकार र नेपाल क्रिकेट संघ क्यानले कदम अघि बढाउनुपर्छ।’
छनोट प्रतियोगिताभर राम्रो प्रदर्शन गरेकाे बताउँदै रोहितले फाइनलमा पराजित हुँदा दुख लागेको बताए।
‘हाम्रो टिमले छनोट प्रतियोगिताभर राम्रो प्रदर्शन गरेकाे थियाे, फाइनल खेलमा पराजित हुँदा अलि दुख लागेको छ’, कप्तान रोहितले भने।
रोहितले अबको लक्ष्य टी-२० विश्वकप रहेको बताए। ‘अब हाम्रो मुख्य लक्ष्य भनेको नै टी-२० विश्वकप हो’, उनले भने।
नेपाल र ओमान आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भइसकेकाे छ।
आइतबार समापन टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो। नेपाल समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै समूह ए को उपविजेता भएको थियो। त्यस्तै, फाइनल खेलमा सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाए पछि उपविजेतामै सीमित हुन पुग्यो।