बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन्।
राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन।
कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ,’ उनले भने, ‘मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ।’
प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताए। ‘केही भागमा उखु खेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ,’ प्रबन्ध निर्देशक ओलीले भने, ‘उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ।’
कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ। मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाइ अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ। मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओलीले बताए।
मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ। कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भएपनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ।
बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेत बाँझो नहुने भन्दै आशावादी बनेका छन्।