आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज हुनुपर्ने बताएका छन्।
दसैँ, दिपावली, छठलगायत चाडपर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया र बाराको सिम्रौनगढ नगरपालिकाको बसवरियामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले भन्सार छली नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी हुनुपर्ने बताए।
'हामीले यसबारेमा भन्सार विभागदेखि प्रधानमन्त्री प्रचण्डसँग समेत कुरा गरेका छौँ। यस्तो व्यवस्थाले राजस्व संकलनमा समेत प्रभाव पारिरहेको छ। संसदलाई समेत जानकारी नदिई गरिएको यो लुट व्यवस्था खारेज गर्नुको विकल्प छैन', आजपा अध्यक्ष साहले भने, 'भन्सार छली नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज नभए नागरिकस्तरबाटै खारेज गरिन्छ।'
भन्सार छली नियन्त्रणको नाममा भइरहेको राजकीय लुटलाई रोक्न भन्सार नियमावलीमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आजपाले दसैँअघि भन्सार विभाग घेराउसमेत गरेको थियो।
सो व्यवस्था खारेज नहुँदा सरकारले बर्सेनि अर्बौं रकम गुमाइरहेको छ। संसदमा कुनै कानुन नै पारित नगरी गरिएको सो व्यवस्थाको चौतर्फी बिरोध भइरहेको छ।
आजपा अध्यक्ष साहले यो व्यवस्था खारेज हुनुपर्ने भन्दै संसदमा समेत आवाज उठाउँदै आएका छन्। राज्यबाट तलब सेवासुविधा पाइरहेका कर्मचारी सुराकीकै नाममा आफैँ मोटाउने यस व्यवस्थाले सरकारको अर्बौँ रकम लुटिरहेका छन्।
आजपा केन्द्रीय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाका अनुसार शुभकामना आदान प्रदान कार्यक्रम सोनरनियामा बिरेन्द्र यादव र बसवरियामा शिवनाथ साहको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा आजपाका स्थायी कमिटी सदस्य त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नगरप्रमुख रीना साह, बबित कुमारी साह, विजय यादव, रन्जुकुमारी साह, ठगा दास, बालकृष्ण सापकोटालगायतका नेताहरुको उपस्थिति रहेको थियो।