रामचन्द्र-प्रचण्ड सत्ताले बदनाम गरेको गणतन्त्र

शिलापत्र

विमल पाेखरेल

देशमा गणतन्त्र बदनाम हुँदै गएको प्रचार भइरहेको छ । वास्तवमा गणतन्त्र बदनाम भएको छ कि छैन, त्यस विषयमा गहिरिएर विचार गर्नुपर्ने समय आएको छ । रामचन्द्र पौडेल-पुष्पकमल दाहालले नेतृत्व गरेको, अन्य विभिन्न दलका प्रमुख नेता संलग्न सत्ता गठबन्धन र तिनका नेताहरू निकै बदनाम हुँदै गएका छन् । राजेन्द्र लिङ्देनको शब्दमा जनताले नेताहरूलाई चोर भन्ने गर्दछन् । तर, वास्तवमा भन्ने हो भने विगतदेखि लगातार सत्ता चलाउँदै आएका प्रमुख नेताहरू चोरभन्दा पनि बदनाम भएका छन् । यो स्थितिमा कतिपय सर्वसाधारणले बरु राजा ठीक थिए भन्न थालेका छन् । 

राजा ज्ञानेन्द्र ठीक भएका कारणले राजा ठीक भनेका होइनन्, प्रमुख नेताहरू भ्रष्ट, हत्याराका संरक्षक र नालायक हुँदै गएका कारण जनतामा विगतप्रतिको आशक्ति बढेको हो । वर्तमान सोचेजस्तो नहुँदा विगत ठीक थियो भन्ने मानवीय स्वभाव राजाका बारेमा पनि प्रकट भएको देखिन्छ । राष्ट्रपति, प्रधानमन्त्री र सत्ता गठबन्धन बदनाम हुनुलाई प्रतिगामीहरूले यसरी देखाउन खोजेका छन् कि सारा गणतन्त्र बदनाम छ । 

गणतन्त्र बदनाम हुनु र रामचन्द्र पौडेल तथा पुष्पकमल दाहालसहितको सत्ता गठबन्धन बदनाम हुनुको बीचमा आकाश जमिनको फरक छ । राजा ज्ञानेन्द्रले २०६१-६३ सम्म जसरी राजतन्त्रको बदनाम गरिरहेका थिए, त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहालसहितको सत्ता गठबन्धन मिलेर गणतन्त्रको बदनाम गरिरहेका छन् । जनताप्रति जिम्मेवार र जवाफदेही नहुने जुनसुकै सत्ता पनि बदनाम हुने गर्दछ । 

गलत राजनीतिक सौदाबाजीबाट पदमा आसीन भएका राष्ट्रपति र प्रधानमन्त्रीमा कुनै नैतिकता, इमानदारिता र जवाफदेहिता देखिएको छैन । तिनीहरू आफ्नो र सत्ता स्वार्थमा हालीमुहाली गर्ने गिरोहको फाइदाका लागि देश र जनताका विरुद्धमा देखिएका छन् । अपराधपीडित र निमुखा जनता बालुवाटार र शीतलनिवासबाट डराउनुपर्ने स्थिति बनेको छ । सत्ताको आडमा अपराधीहरूलाई उन्मुक्ति दिइएको छ भने जनताको न्यायलाई निमोठिएको छ । 

प्रकाशित मिति: : 2023-11-19 18:12:00

प्रतिकृया दिनुहोस्