हमासले बेपत्ता बनाएका बिपिनलाई नेपालले कसरी खोजिरहेछ?

सरकार भन्छ- हमासको नियन्त्रणमा बिपीन सकुशल छन्, दूतावास भन्छ- अहिलेसम्म अवस्थाबारे केही थाहा छैन

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

करिब डेढ महिनाअघि अक्टोबर ७ मा प्यालेस्टाइनी बिद्रोही समूह हमासले एकाएक गाजा क्षेत्रमा आक्रमण गर्दा दश मारिएका सयौ मानिसमध्य १० जना नेपाली पनि थिए। 

कृषि क्षेत्रमा ‘पढ्न र कमाउन’ गएका उनीहरूको शब निकै कठीन प्रयासपछि नेपाल ल्याइएको थियो। उनीहरूसँगै केही नेपाली सकुशल आए र कति घाइते भएकाहरू पनि आए।

त्यो आक्रमणपछि सुरक्षित हुन बङ्करमुनि लुकेका मानिस पनि हमासबाट सुरक्षित हुन सकेनन्। कतिलाई बङ्करभित्रै मारियो कति त्यत्तिकै अत्यासिएर ज्यान फाले। 

बङ्कर र घरभित्र रहेका धेरै इजरायली नागरिकलाई अहिले पनि हमासले आफ्नै नियन्त्रणमा राखेको छ। उनीहरूलाई छुटाउनका लागि इजरेजी सेनाले अहिलेसम्म प्रयास त गरिरहेको छ तर त्यसमा मान्छेले ज्यानमात्रै गुमाएका छन्, इजरेलले पनि भनेजस्तो सफलता पाउन सकेको छैन। 

हमासले युद्धबन्दी बनाएमध्ये एकजना नेपाली पनि छन्, बिपिन जोशी। उनी बैतडीको दोगडाकेदार गाउँपालिका-१ निवासी हुन्। 

गत भदौ अन्तिम सातामात्रै इजरेल पुगेका उनी हमासको आक्रमणपछि साथीहरूसँगै बङ्करभित्र छिरेका थिए। त्यहाँ पनि हमासले ग्रिनेड बम हानेको थियो। उनीसँगै बङ्करमा लुकेका नेपाली साथीहरूका अनुसार उनले त्यो ग्रिनेड हातैले समाएर बाहिर फालिदिएका थिए। त्यसबाट सयौ मानिसको ज्यान बाँच्यो। त्यसैमा बाँचेका उनका साथीहरू भने नेपाल फर्किसकेका छन्। 

तर अरु इजरेलीहरूसँग बिपिनलाई पनि हमासले लग्यो। अहिलेसम्म बिपिन कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरा कसैलाई पत्तो छैन। 

के गरिरहेछ सरकार?
दुई साताअघि नेपाल आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उभिएर बिपिन जोशीलाई घर फर्काइदिन हमासलाई अपिल गरेका थिए। 

हजार माइल टाढाको प्यालेस्टाइन-इजरेल युद्धको परिणाम नेपाल र नेपालीले पनि चुकाउनुपरेको भन्दै उनले जोशीको शकुसल घर फिर्तिको कामना गरेका हुन्। उनको यो अपिललाई संसारभरका सञ्चारमाध्यमहरूले निकै महत्व दिएर प्रशारण गरेका थिए।

नेपाल सरकारले पनि जोशीलाई फर्काउन ‘कुटनीति प्रयास’ गरिरहेको जनाएको छ। तर त्यसको देखिनेगरी परिणाम भने अझै केही छैन। 
बिपिनका परिवारले आफ्नो सन्तानलाई फिर्ता ल्याइदिन सरकारलाई निरन्तर अनुरोध गरिरहेका छन्। केही दिनअघि कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री एनपि साउदसँग उनका आफन्तले जोशीलाई शकुसल फर्काइदिन आग्रह गरेका थिए। 

परराष्ट्रमन्त्री साउदले भने त्यसका लागि सरकारले प्रयास गरिरहेको भनै धैर्य गर्न परिवारलाई भनेका थिए। 

तर अहिलेसम्म उनको अवस्थाबारे थाहा हुन सकेको छैन। इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले हमासले बन्धक बनाएका इजरेली नागरिकको समूहमा बिपिन जोशी पनि रहेको जनाएको छ। तर उनको अवस्थाबारेमा अहिलेसम्म एकीन भने हुन सकेको छैन।

आइतबारमात्रै आइडिएफले एउटा भिडियो सार्वजनिक गरेको थियो। त्यसमा हमासका लडाकुहरूले दुई जना बन्धकलाई घाइते भएको अवस्थामा अस्पताल पुर्‍याएको देखिन्छ। आईडिएफले तीमध्य एकजना नेपाली र अर्का एकजना थाई नागरिक रहेको दाबी गरेको छ। तर उसको दाबीअनुसार ती नेपाली बिपिन जोशी नै हुन् भन्ने एकीन छैन। 

यो भिडियो हमासले आक्रमण सुरु गरेकै दिन अर्थात् ७ अक्टोबरकै दिन गाजा सहरको अल शिफा अस्पतालको सिसिटिभी फुटेज हो। यो भिडियो सार्वजनिक गर्दै इजरेली सेनाले हमासले निरन्तर अस्पतललाई आफ्नो हबका रुपमा प्रयोग गर्दै आएको पुष्टी भएको जनाएको छ।

हमासमाथि जवाफी कारबाहीका क्रममा इजरेली सेनाले पनि गाजाका अस्पतालहरूमा भीषणा आक्रमण गरेको थियो। 

सोमबारमात्रै इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे अझै केही भन्न नसकिने जनाएको छ। 

विज्ञप्तिमा दूतावासले दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको त जनाएको छ तर अवस्थाबारे भने भनिएको छैन। 

जोशीको पछिल्लो अवस्थाबारे एकीन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको छ’ दूतावासले भनेको छ। 

परराष्ट्र मन्त्रालयले पनि जोशीको खोजीका लागि कूटनीति प्रयास भइरहेको र उनलाई सकुशल घर फर्काउनका लागि सरकार लागिरहेको जनाएको छ। 

तर इजरेली डिफेन्स फोर्सले सार्वजनिक गरेको भिडियो फुटेजका बारेमा आफूहरूलाई आधिकारिक रुपमा जानकारी नआएको परराष्ट्रमन्त्री साउदले बताए। 

‘त्यो भिडियोको आधिकारिकताबारे अहिले नै हामीलाई थप जानकारी छैन। त्यसबारे कुराकानी हुन सकेको छैन। त्यहाँ दाबी गरिएका नेपाली बिपिन नै हुनुहुन्छ भन्ने एकीन छैन’ बिएल नेपाली सेवासँग भने ‘तर आइतबार राति अबेरमात्रै हाम्रो कुराकानी भएको थियो। इजरेली अधिकारीहरूबाट हामीले पाएको जानकारीअनुसार बिपिनजी हमासकै नियन्त्रणमा हुनुहुन्छ र सकुशल हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’ 

उनले हमाससँग नजिकको सम्बन्ध रहेका राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय अधिकारवादी संघसंस्थाहरूसँग पनि बिपिनको रिहाइका बारेमा कुटनीतिक पहल भइरहेको बताए। 

‘हामीले कतारका अधिकारीहरूसँग पनि कुराकानी गरिरहेका छौं। त्यस्तै अन्तर्राष्ट्रिय रेडक्रस र संयुक्त राष्ट्रसंघहरूसँग पनि हामी निरन्तर सम्पर्क र समन्वयमै छौं’ साउदले भने ‘हामी जसरी पनि उहाँलाई सकुशल घर फर्काउनेछौं। सबैलाई धैर्य गर्नका लागि सरकारले अपिल पनि गरेको छ।’ 

प्रकाशित मिति: : 2023-11-20 19:35:00

प्रतिकृया दिनुहोस्