मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ।
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति १०ः३० बजे अचानक आगलागी सुरु भएको थियो। आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए।
घाइतेहरूको काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये उर्लाबारी–७ का पण्डितको उपचारका क्रममा आज बिहान मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ। उपचाररतमध्ये गम्भीर अवस्थाका आठ जनाको आइसीयूमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार आगलागीबाट तीन करोड ४१ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ।
आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन। प्रहरी निरीक्षक दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।