‘भावी प्रधानसेनापति’ सिग्देलविरूद्ध मन्त्रालयमा उजुरी, रक्षामन्त्रीकाे चासो

उमेश थापा

काठमाडौं

भावी प्रधानसेनापतिको रुपमा हेरिएका ताराध्वज पाण्डेको ‘लज्जास्पद बहिर्गमन’पछि नेपाली सेनाका उच्च अधिकारीहरूको एकपछि अर्को कीर्ते प्रकरण खुल्दैछ।

‘चेनअफ कमाण्डमा चल्ने फौजी संगठन’ अनुशासनमा बाँधिएको भनिएपनि ‘एउटा अधिकारीले, अर्को अधिकारी’को पोल खोलिरहेका छन्।

जंगीअड्डाको नेतृत्व हात पार्न शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएका जर्नेलहरूबीच हिजोआज व्यापक गुटबन्दी छ। र, ‘वेइटिङ आर्मीचिफ’विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभागीय रक्षा मन्त्रालयमा उजुरी नै उजुरी छन्।

भावी प्रधानसेनापतिका रुपमा हेरिएका दुईतारे जर्नेल अशोक सिग्देलविरूद्ध आइतबार रक्षा मन्त्रालयमा उजुरी परेको छ। उनको नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति पनि ‘ताराध्वज पाण्डेकै शैली’मा छानबिन हुनुपर्ने माग गरिएको छ।

नेपाली सेनाको नेतृत्व हत्याउनकै लागि शैक्षिक प्रमाणपत्र र नागरिकता कीर्ते गरेका सिग्देलविरूद्ध मन्त्रालयमा उजुरी परेपछि रक्षामन्त्री पूर्णबहादुर खड्काले कतिपय रक्षाविज्ञहरूसँग संवाद गरेका छन्।

रक्षा मन्त्रालय स्रोतकाअनुसार मन्त्री खड्काले नेपाली सेनाभित्र शैक्षिक प्रमाणपत्र र नागरिकताको व्यापक समस्या रहेको बताउँदै दीगो समाधानका लागि उपाय खोजिने बताएका छन्।

सिग्देलविरूद्ध रक्षा मन्त्रालयमा स–प्रमाण शैक्षिक प्रमाणपत्रमा १९ माघ २०२१ जन्ममिति रहेको र नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याइ भावी प्रधानसेनापति बन्न खोजेको ब्यहोरा उल्लेख गरिएको छ।


‘वेइटिङ आर्मीचिफ’विरुद्ध अख्तियारमा उजुरी, कस्तो सेना बनाउँदैछन् प्रभुराम?


यसअघि जन्ममिति कीर्ते प्रकरणमा डामिएसँगै कारबाहीबाट बच्न भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डेले पदबाट राजीनामा दिए। उनले दिएको राजीनामा गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै जंगीअड्डाले शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको जंगीअड्डा स्रोतको दाबी छ।

जंगीअड्डाबाट बढुवाका लागि सिग्देलको नाम सिफारिस भएपनि यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुपर्ने रक्षामन्त्री खड्काले बताएका छन्।

सेनाभित्र व्यापक गुटबन्दी

ताराध्वजको राजीनामासँगै भावी प्रधानसेनापतिका लागि जर्नेलहरूबीच दौडादौड जारी छ। रोलक्रमअनुसार अघि बढ्दा प्रभुरामको अवकाशपछि अशोक सिग्देल चिफ हुने स्थिति छ। उनले बलाध्यक्षको जिम्मेवारी पाउनेछन्। यसअन्तर्गत कल्याणकारी, प्रबन्ध, प्राड अर्थात् लिगल र इञ्जिनियरिङ विभाग पर्छन्।

हालका सेकेण्डम्यान सीताराम खड्का पुस ९ गते घर गएपछि हाल युएनमा फोर्स कमाण्डर रहेका निर्मल थापा बलाध्यक्षमा पदस्थापन हुन्छन्।

बलाधिकृतले अप्रेसन, जासुसी र तालिमलगायत काम हेर्छ। २०८१ भदौमा निर्मल सेकेण्डम्यान बनेपछि बाबुराम श्रेष्ठ तीनतारे जर्नेल हुने अवस्था छ। भर्खर बढुवा भएका सन्तोष ढकालको त्यसअघि नै कार्यकाल सकिने भएकाले उनी अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ।

तर, सन्तोषलाई चिफ बनाउन सेनामा अर्को गुट सक्रिय देखिन्छ। सन्तोष बल्लभ पौडेलसहितको टोली त्यसमा लागिसकेको छ। बिहारी सर्टिफिकेट काण्ड लगाएर कथं निर्मललाई चिप्ल्याई ढकाललाई चिफ बनाउन सके त्यसपछि आफ्नो पालो आउने भएकाले पौडेल कस्सिएर लागेको प्रधानसेनापतिको सैनिक सचिवालयका केही कर्णेललाई आशंका छ।

यही समूहले अशोक र निर्मलको समेत नागरिकता र शैक्षिक प्रमाणपत्रमा कैफियत रहेको भनी सियो कोट्याइरहेको बताइन्छ। बीचैमा कुनै काण्ड लागेर अशोक लेफ्टिनेन्ट जनरलमा बढुवा भएनन् भने उनी यही माघमा घर जानुपर्ने हुन्छ। त्यसकारण त्यतिञ्जेल रंगबिरंगी विवाद निस्किरहने पक्का छ।

यसअघि पनि निर्मल र अशोकलाई फाल्न प्रेम शाहीहरू लागेका थिए। उमेरसम्बन्धी विवादमा अदालत गुहारेर नेतृत्वसँग टक्कर गर्दा पछि आफैँ बाहिरिनुपर्यो। सेनाले समातेर उनीमाथि कोर्ट मार्शलसमेत भएको थियो।

९ महिनाअघि मेजर जनरल भएको र कागजात मिलाउन सकेको भए उनी चिफको लाइनमा जान्थे। पूर्णचन्द्रको योजनाअनुसार अघि सारिएका अनन्त कार्कीको पनि प्रधानसेनापति हुने सम्भावना थियो।

अहिले अशोक सिग्देल चिफ हुनेगरी प्रक्रिया अघि बढ्दा अनुपजंग थापा, मधुकर कार्कीलाई टपेर सैनिक नेतृत्वमा पुग्ने देखिन्छ। तर, सन्तोष ढकाल प्रधानसेनापति हुने स्थितिमा भने सन्तोष बल्लभको पालो आउँछ।

प्रकाशित मिति: : 2023-11-27 16:39:00

प्रतिकृया दिनुहोस्