जुफाल विमानस्थल जोड्ने सडकको कन्तबिजोग

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्डमा हिलो बढेपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ।

ठुलीभेरी नगरपालिका वडा नं. ७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमिटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवतजावत गर्ने जिप, ट्याक्टर, मोटरसाइकललगायतका सवारीसाधनलाई सञ्चालनमा समस्या भएको छ।

जुफाल बजारभरिबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ। जसका कारण करिब दुई सय मिटर सडक हिलोले भरिभराउ भएको हो।

निलो माटो, त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जिप, मोटरसाइकललगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप व्यवसायी शेरबहादुर कठायतले जानकारी दिए।

जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरुले समस्या भोगिरहेको कठायतको भनाइ छ।

‘नगरपालिका कार्यालय नजिकै छ, दुखको कुरा बजारको पानी व्यवस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न’, उनले भने।

यात्रुलाई गन्तव्यमा पुर्याउन कठिन भएकाे भन्दै उनले थपे, ‘सडकमा हिलोसँगै धुलो पनि उत्तिकै छ, जसले गर्दा जिपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुशल गन्तव्यमा पुर्याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ।’

नजिकको सरकार स्थानीय सरकार नै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुकता देखाउनुपर्ने उनको भनाइ छ। यहि बाटो भएर आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ।

धुलो र हिलोले अप्ठ्यारो बनेको सडकदेखि नजिकै नगरपालिका भएपनि सुधारका लागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ।

डोल्पालीका लागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री, सांसद, जिल्लाका प्रशासक, नगरका जनप्रतिनिधि यहि बाटो भएर आवतजावत गर्ने भएपनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएका पाइँदैन।

डोल्पा प्रवेशको मुख्यद्धारको सडकको अवस्था नाजुक भएको त्रिपुराकोटका व्यापारी प्रकाश पन्थीले बताए। काम विशेषले जुफाल एयरपोर्ट जाँदा हिलो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने उनको भनाइ छ।

बजारको पानी भित्रभित्रै भिजेर बाटोमा पुगेपछि जुफाल बजारसमेत पहिरोको उच्च जोखिममा रहेको छ।

एयरपोर्ट पुग्ने सडक नै हिलो र धुलोले भरिएपछि सडक चिप्लो भएर दुर्घटनाको जोखिम रहेको ट्राफिक प्रहरी जवान झलनाथ वलीले बताए। यस्तो सडक समयमै सुधार गर्न नगरपालिकालाई समेत उनले अनुरोध गरे।

प्रकाशित मिति: : 2023-11-28 14:02:00

प्रतिकृया दिनुहोस्