जलवायु परिवर्तनको असर हिमालमा धेरै

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन्।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उनले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताए।

जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख गर्दै उनले हिमाल र हिमाली संस्कृति जोगाउनुपर्नेमा जोड दिए। 

हिमाल हाम्रा सम्पत्ति भएको चर्चा गर्दै मन्त्री आलेमगरले हिमालले नै नेपाललाई विश्वमाझ चिनाएको बताए। नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको बताए। हिमाल र पदयात्राका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको उनले बताएका छन्।

नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय सङ्ग्रहालयमा वर्षेनी महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको जानकारी गराए।

महोत्सवका सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्ने ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको बताएका छन्।

शुक्रबारदेखि पाँच दिन चलेको महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री प्रदर्शनीदेखि जलवायु परिवर्तनको असर लगायतका विषयमा बहस गरिएको थियो। उक्त अवसरमा पर्वतारोहण र पर्वतीय जनजीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको तस्बिर प्रदर्शनी गरिएको थियो।

महोत्सव १० हजार जनाले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिए।महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत आदि कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताएका छन्। 

प्रकाशित मिति: : 2023-12-12 20:56:00

प्रतिकृया दिनुहोस्