स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन्। मन्त्री बस्नेतले मोरङको रतुवामाई- ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताएका हुन्।
मन्त्री बस्नेतले हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत् ३१ हजार कर्मचारी दरबन्दी भएको तथ्याङ्क भएपनि कार्यक्षेत्रमा २८ हजार कर्मचारीमात्रै रहेको बताए। सरकारी अस्पतालमा २५ देखि ३० हजार कर्मचारी दरबन्दी थप गर्न सरकारले प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री बस्नेतले भवन बनाएरमात्रै स्वास्थ्य सेवा दिन नसकिने उल्लेख गरे। भवन, प्राविधिक कर्मचारी र उपकरण बिनाको स्वास्थ्य क्षेत्रले सेवा दिन नसक्ने चर्चा गर्दै मन्त्री बस्नेतले ७५३ स्थानीय तहमा ४ वर्षअघि अस्पताल भवन शिलान्यास भएपनि एउटा पनि अस्पताल भवनको उद्घाटन नभएको बताए।
मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम अझै प्रभावकारी बनाउन देशभर जुनसुकै सरकारी अस्पतालबाट सेवा लिन सकिने गरी व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले हाल रेफर सेन्टरमात्रै रहेको नगर अस्पताललाई साँच्चिकै गरिब दु:खीको अस्पताल बनाउनुपर्नेमा जोड दिए। मन्त्री उप्रेतीले राज्य कमजोरहरूका लागि हुनुपर्ने बताउँदै समावेशीता र सङ्घीयता कमजोरहरूका लागि बलियो बनाउने व्यवस्था रहेको उल्लेख गरे।
सङ्घीय सरकारको १ करोड ८३ लाख ३९ हजार ९३४ रुपैयाँमा निर्माण हुने अस्पताल २०८२ भदौमा निर्माण सम्पन्न हुनेछ। रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुँडालले समेत बाेलेका थिए।