स्वास्थ्यकर्मी तुलसा विश्वकर्मामाथि जातीय विभेद र यौन हिंसा भएको खुलासा

महेश नेपाली

काठमाडाैं

‘मैले इन्कार गरिरहेँ। गएको केही महिनामा रक्सी खाएर केही युवाहरूले विभिन्न बहानामा हिंसा गरे। मैले गाउँमा प्रहरी ल्याएपछि मलाई नै धम्क्याउन थाले। पछि त घरभेटीले समेत पानी नचल्ने कोठा अन्त सार भन्दै विभेद गर्न थाले’, उनले भनिन्।


सोमबार दिउँसो सामाजिक सञ्जालमा भाइल भएको तस्बिरबाट खुल्यो मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्मालाई स्थानीयबाट जातीय विभेद भयो। उक्त तस्बिरमा, ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे’ भनी क्याप्सन लेखिएको थियाे।

तर, स्वास्थ्यकर्मी तुलसाको फोन अफ भएका कारण जातीय विभेद भए नभएको खेल्न सकेको थिएन। उनीमाथि जातीय विभेद भए नभएको भनी रंगकर्मी हिरा बिजुली नेपालीले फोन सम्पर्क गरेको बताएका थिए। तथापि, परिबन्धका कारण उनले आफूमाथि जातीय विभेद नभएको बताएकाे खुलासा भएकाे छ।

तुलसीपुर उपमहानगरपालिका– ११ दाङकी २३ वर्षीया तुलसा  सदरमुकाम गमगडी पुगेसँगै उनीमाथि जातीय विभेका साथै यौन हिंसासमेत भएको खुलेको छ।

आ.व २०७८/०७९ मा कर्णाली प्रदेश लोक सेवाबाट अनमी स्थायी पदमा नाम निकालेकी उनको पोस्टिङ् मुगुको सोरु गाउँपालिकापालिकामा भएको थियो। उनलाई २०७९ माघ ९ गतेदेखि सोरु गाउँपालिकाको वडा नम्बर ९ को खनायाँ स्वास्थ्य चौकीमा खटायो।

हालका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। उनले आफ्नो वडामा विश्वकर्मालाई खटाइएका थिए। सुरजकुमार शाहीको घरमा तुलसाले डेरा लिएर बसेकी थिइन्। केही महिनादेखि नै उनलाई गाउँका युवाहरूले अनावश्यक रूपमा राति फोन गर्ने, औषधीको निहुँ पारेर रक्सीको नसामा राति कोठामा आउने गर्न थाले।

त्यतिमात्रै होइन, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले राति आफूलाई फोन गरेर भेट्न आउँछु भन्दै हिंसा गरेको उनले बताइन्। उनले भनिन्, ‘वीरेन्द्रबहादुर मल्ल अहिले सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ। पहिला निमित्त हुनुहुन्थ्यो। उहाँले मलाई आफ्नो गाउँमा पठाउनुभयो। पछि राति फोन गरेर तपाईं कहाँ हुनुहुन्छ? म भेट्न आउँछु भन्ने कुरा गर्न थाल्नुभयो।’

उनले थपिन्, ‘मैले इन्कार गरिरहेँ। गएको केही महिनामा रक्सी खाएर केही युवाहरूले विभिन्न बहानामा हिंसा गरे। मैले गाउँमा प्रहरी ल्याएपछि मलाई नै धम्क्याउन थाले। पछि त घरभेटीले समेत पानी नचल्ने कोठा अन्त सार भन्दै विभेद गर्न थाले।’

जातीय विभेद अनि यौन हिंसासम्मका प्रयास भएपछि आफ्नो सुरक्षाको लागि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई भने पनि कुनै सुनुवाइ नभएको उनले दुखेसो पोखिन्। गाउँमा र आफ्नै हाकिमबाट हिंसा र विभेद भोगेपछि उनले सरुवाका लागि पालिका र प्रदेश सरकारसँग अनुरोध गरिन्। तर, कसैले सुनेन।

२०८० भदौ ३ गते बल्ल कालीकोटको तिलागुफा नगरपालिकाको वडा नम्बर १ स्थित फोइमहादेव स्वास्थ्य चौकीमा रिक्त रहेको अनमी चौथो पदका लागि नगरपालिकाले सहमति दियो। सहमतिअनुसार तीलागुफा नगरपालिकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतलाई सरुवा सहमतिको चिठीसमेत पठायो।

०८० भदौ २३ गते सोरु गाउँपालिकाले पनि तुलसालाई स्वास्थ्य तथा घरायसी समस्याको कारण खुलाउँदै सरुवा भई बाहिर जान सहमतिपत्र दियो। तर, मुख्यमन्त्री कार्यालयबाट उनको सरुवा प्रक्रिया अगाडि बढेन।

‘म बसेको घरको अन्टीले तिमी तल्लो जातीको भएको थाहा थिएन। अहिले मात्रै थाहा भयो। सबै गाउँलेले हामीलाई पनि राम्रो मान्दैनन् हाम्रो घर छोडेर अन्त कतै कोठा खोज भन्नुभयो,’ उनले दुखेसो पोखिन्, ‘अन्त पनि कोठा दिन कसैले मानेनन्। म यहाँ सुरक्षित नभएको कुरा परिवारलाई भनेकी थिएँ। सरुवाको लागि पहल गरे पनि सफल भइनँ।’

घटना सार्वजनिक भएपछि सोमबार सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीसहित सञ्चारकर्मीहरूको टोली खनायाँ गाउँमा पुगेर तुलसालाई सोमबार बेलुका सदरमुकाम गमगढी ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जाहेरी नआएको र जाहेरी आएमा अनुसन्धान गरिने बताए।

हालसम्म कुनै जाहेरी र निवेदन नआएको र मंगलबारमात्रै पीडितले घटनाबारे खुलाएको डिएसपी थापाको भनाइ छ। उनले भने, ‘बुधबारसम्म उहाँका आफन्तहरू आउने कुरा छ। त्यसपछि उहाँले जाहेरी दिएमा कारबाहीका लागि तयार छौँ।’

भिडियाे :

प्रकाशित मिति: : 2023-12-20 19:40:00

प्रतिकृया दिनुहोस्