काँग्रेसको मधेस सम्मेलनमा असन्तुष्टिका बाछिटाहरू 

नेपाली काँग्रेसको पाँचौँ महाधिवेशन वि.सं. २००९ सालको जेठमा टन्टलापुर घाममा चर्किएको जनकपुरधाममा भएको थियो।

त्योबेला साहसी व्यक्तित्वहरू सहिद दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, बोधप्रसाद उपाध्याय, महेश्वर सिंह, रुद्रप्रसाद गिरी, भोजराज घिमिरे, वेणिमाधव सिंह मधेसका नक्षत्र थिए।

कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी नेतृत्वको जनमुक्ति सेनाले २००७ सालको मंसिरमा जनकपुर कब्जा गरेको थियो।

वि.सं. २००९ भदौ २१ गते पार्टीको आन्तरिक विवाद बढ्दै जाँदा कांग्रेस विभाजन भयो। विभाजनका विविध आयामबीच एउटा निकै चर्को कारण थियो, मातृकाप्रसाद कोइराला र वी.पी.कोइरालाको टकराव। त्यसमाथि त्योबेला प्रस्तावित संविधान सभाको चुनाव रोक्ने विषयमा राजाले चलखेल गरिरहेकै थिए।

विभाजित कांग्रेसको एउटा खेमा सभापतिमा मातृकाप्रसाद कोइराला, महामन्त्री महेन्द्रविक्रम शाह र महामन्त्री बोधप्रसाद उपाध्यायसहित छुट्टिएर गयो। त्यसअघि जनकपुरमा २००९ साल जेठमा सम्पन्न महाधिवेशनले वी.पी. कोइरालालाई सभापति चयन गरेको थियो।

दोस्रो संविधान सभापछि पार्टीभित्र संघीयताको कार्यान्वयन गरिरहेको कांग्रेसको मधेस प्रदेश सम्मेलनअघि पार्टीको वरियताक्रम र निमन्त्रणालाई लिएर विवाद सुरु भयो। मधेस प्रदेश समितिमा इतर पक्षले असहमति नै लेख्यो।

असहमतिको विषय थियो, सम्मेलनको मञ्चमा वरिष्ठ नेताको हैसियतमा डा. शेखर कोइरालालाई राख्ने कि नराख्ने भन्ने। यसबीच काँग्रेस पूर्व उपसभापति विमलेन्द्र निधिलाई समेत मञ्चमा सम्मानजनक स्थान दिइएन।

सम्मेलनको उद्घाटनमा कोइरालाको नाम बोलाइएको थियो। तर उनलाई पार्टीको वरिष्ठ नेताको हैसियत नदिने भन्ने थाहा पाएपछि कोइराला त्यो सम्मेलनमै गएनन्। बरु उनी त्योबेला इनरुवातिर थिए। कार्यक्रममै पुगेका नेता निधि पनि पार्टी सभापतिको वरियता नपाएपछि मञ्चमा उक्लिएनन्। बरू उनले दर्शकदीर्घामै बसेर पार्टी सभापति शेरबहादुर देउवालगायतको भाषण सुने।

चौधौँ महाधिवेशनमा कोइराला र निधि दुवै पार्टी सभापतिका लागि भिडेका थिए तर दुवै पराजित भए। पहिलो चरणबाटै बाहिरिएपछि निधिले देउवालाई नै समर्थन दिएका थिए। कोइराला भने अन्तिम चरणमा पनि देउवासँग भिडेका थिए।

कांग्रेसको लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिका रूपमा निम्त्याइएको थियो। ती दुई प्रदेशमा सभापति इतर पक्षका रहेकाले त्यो सहजै भयो। तर मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव संस्थापन पक्षका छन्। उनले पार्टीको विधानअनुसारको प्रोटोकल अघि बढ्ने बताइरहेका छन्।

मधेस प्रदेशको मुटु कुनैबेला कददावर नेता स्व. महेन्द्रनारायाण निधि र गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव जन्माएको र हुर्काएको जिल्ला पनि हो धनुषा- मधेसको जनकपुरधाम।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले पार्टीको प्रथम प्रदेश सम्मेलनले मधेसको भविष्य निर्माण गर्ने भन्दै बुधबार पत्रकार सम्मेलन गरेका थिए। मधेस प्रदेशका ८ वटा जिल्लाबाट छनौट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सम्मेलनमा सहभागी हुने समेत बताइएको थियो।

कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको आज उद्घाटन भएर शुक्रबार बन्दसत्र सक्दै समापन हुने तय भएको छ। सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमितिले बुधबार नै पारित गरेको थियो।

प्रकाशित मिति: : 2023-12-21 18:15:00

प्रतिकृया दिनुहोस्