आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पक्राउ परेका छन्।
उनलाई साेमबार बिहान जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट प्रहरीले पक्राउ गरेको हाे।
सर्वोच्च अदालतले गत मंसिर २० गते मोतीबाबुलाई पुन: पक्राउ गरी थुनामा पठाउन आदेश गरेको थियो। सर्वोच्चकाे आदेशपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।
आरती गएको जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। आरती मृत फेला परेपछि उनको माइती परिवारले आरतीका श्रीमान, ससुरा बा, आमाले हत्या गरेको भनेर जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेका थिए।
असार ३ गते जिल्ला अदालत जनकपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान मोतीबाबु र ससुरा दोषी देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर, उच्च अदालत जनकपुरले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका श्रीमान र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गरेपछि आरतीका परिवार सर्वोच्चमा पुगेका थिए।