राष्ट्रिय वाणिज्य जुम्लाले बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा रत्नचूडेश्वर माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
संसारभर प्रचलित आधुनिक बैंकिङ प्रणालीबारे जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम गरिएको हो।
पछिल्लो समय संसारभर डिजिटल कारोबार भइरहेको छ। विश्व समुदाय डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले पनि वित्तीय साक्षरता आवश्यक रहेको राष्ट्रिय वाणिज्य बैंक जुम्लाका सहायक प्रवन्धक भवानी प्रसाद पौडेलले बताए।
उनका अनुसार वित्तीय साक्षरता भनेको व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी रूपमा प्रयोग गर्न हासिल गर्ने ज्ञान तथा सीप हो। वित्तीय सेवा प्रदायकका विभिन्न सेवा वा उत्पादनहरूको (प्रोडक्ट) को बारेमा राम्रोसँग बुझ्न सक्नु हो।
'वित्तीय उत्पादनहरुसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न सक्नु र त्यसलाई व्यवस्थापन गर्न सक्नु नै वित्तीय रुपमा साक्षर हुनु हो,' उनले भने, 'ग्राहक, उपभोक्ताहरुको वास्तविक आवश्यकतालाई पहिचान गरी उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पुर्याउने काम वित्तीय साक्षरताबाट सम्भव हुन्छ।'
उनले वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्ने र सहभागितामा वृद्धि गर्न मद्दत गर्नुका साथै वित्तीय साक्षरताले व्यक्तिलाई आम्दानी र खर्चको विश्लेषण गर्न सक्षम बनाउने बताए।
बचत गर्ने बानीको विकास गर्न, आवश्यक परेको बेला रकम झिक्न र सुरक्षित रुपमा राख्न, देश विदेशबाट पैसा पठाउन र पाउन तथा आवश्यक परेको बेला ऋण लिनका लागि समेत वित्तीय साक्षरता जरुरी रहेको पौडेलको भनाइ छ।
वित्तीय साक्षरता कार्यक्रम गरी विद्यार्थीलाई बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, बैंक खाताका प्रकार, कर्जा, आधुनिक बैंकिङ प्रणाली, क्यूआर कोड सिस्टम आदिको विषयमा ज्ञान दिनु वित्तीय साक्षरता कार्यक्रमको उदेश्य भएको बैंकले जनाएको छ।
बैंकिङ प्राणाली डिजिटल युगमा प्रवेश गरेसँगै डिजिटल प्रविधिबाट ठगी पनि बढिरहेको हुनाले विद्यार्थी, अभिभावकदेखि बैंकका ग्राहकहरु सबै सचेत हुनु आवश्यक रहेको रत्नचूडेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन न्यौपानेले बताए।
'हामीलाई ठूलो चिठ्ठा परेको छ भन्दै त्यसका लागि अग्रिम रुपमा मागेर ठगी गर्ने जस्ता घटनाहरु हाम्रो गाउँठाउँमा थुप्रै भइरहेको छ,' उनले भने, 'युजर आइडी, पासपोर्ट ओटीपीलगायत गोप्य राख्नुपर्ने चिजबिज पनि प्रविधिको राम्रो प्रयोग राम्ररी गर्न नसक्दा ठगी भइरहेको छ।'
उनले व्यवस्थापनको लेखा तथा अर्थशास्त्र पढाएर अब्बल विद्यार्थी उत्पादन गरिरहेको रत्नचूडेश्वर माविका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरि सचेत बनाएको हुनाले राष्ट्रिय वाणिज्य बैंकले राम्रो काम गरेको हुँदा धन्यवाद दिए।
वित्तीय साक्षरता भविष्यसँग जोडिएको हुनाले महत्त्वपूर्ण भएको रत्नचूडेश्वर माविका लेखापाल संजिव न्यौपानेले बताए। उनले भने, 'विद्यार्थीले खाता खोलेर सानो-सानो रकम जम्मा गरे महत्त्वपूर्ण किताब किन्न सकिन्छ। किताब ज्ञानको भण्डारी हो। ज्ञानले नै वर्तमान संसार चलेको छ।'
देशका ७७ जिल्लाका २८६ वटा शाखामार्फत राष्ट्रिय वाणिज्य बैंकले चल्ती, बचत, मुद्दती निक्षेप, चालु पूँजी, आवधिकलगायत व्यवसायिक कर्जाहरु, र कर्जा, सवारी कर्जा, सुन कर्जा, मुद्दती रसिदको धितामा जाने कर्जालगायत, रेमिटान्स सेवा, डिजिटल कारोवारलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमपछि राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट रत्नचूडेश्वर माविका विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो।