प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा महत्वपूर्ण कामहरू गरेका बताएका छन्।
‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन्।
उनले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्।
‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।’
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए।
नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान छ दशमलव सात प्रतिशत र रोजगारीको क्षेत्रमा छ दशमलव नौ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताए।