आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिले काठमाडौँमा महानगरपालिकाकाे आतंक मच्चिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा बोल्दै साहले साहले भने, ‘काठमाडौँमा महानगरको आतंक चलेको छ। सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन्। कवाड व्यवसायीहरुको डोजर चलाइएको छ। कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ। महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन्? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस भनेर म आग्रह गर्न चाहन्छु। अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन्। उनीहरु असुरक्षित छन्। उनीहरु त्रसित छन्। हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो। त्यसको रक्षा राज्यले गर्ने हो कि होइन?’
उनले व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृह मन्त्रालयको ध्यानाकार्षणसमेत गराए। कसैलाई पनि गैरकानुनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने साहको तर्क छ।
‘आज काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको छ। जबरजस्ती भगाउने काम भएको छ। लाखौँलाई बेरोजगार बनाउने प्रयास भएको छ’ साहले भने, ‘सरकारले बेरोजगारलाई रोजगारी दिने र रोजगारीलाई व्यवस्थित बनाउँने हो तर यहाँ महानगरले गैरकानुनी रुपमा आतंकित गरिएको छ।’
घर–घरका काम नलाग्ने कवाडीहरु व्यवसायीहरुले किनेर काठमाडौँलाई सफा, स्वच्छ बनाउनमा सहयोग गरेको बताउँदै उनले ती व्यवसायीलाई सरकारले सम्मान गर्नुपर्ने बताए।
कानुन अनुसार काम गरिरहेका कवाडी व्यवसायीलाई गैरकानुनी रुपमा हटाउन नमिल्ने उनले बताए। तर गैरकानुनी रुपमा हटाउन खोजिएपछि उनीहरुलाई काम गर्ने विकल्प दिनुपर्ने सुझाव उनले दिए।
सर्वोच्च अदालतको निर्णयविपरीतसमेत महानगरपालिकाका प्रहरीले जबरजस्ती गर्नुले के उनीहरु कानुनभन्दा पनि माथि रहेको छन्? भन्दै उनले प्रश्न गरे। सरकारले यसको छिटै निकास दिनुपर्ने र गृहमन्त्रीले सुरक्षाको अनुभूति गराउनुपर्ने मागसमेत उनले गरेका छन्।