प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै (लाइभ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषय समावेश गरेको छ। प्रतिनिधिसभाको बैठक बसिरहेकाे छ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए।

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ। त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। सो दलले विश्वासको मत फिर्ता लिएको छ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्। सरकार विस्तारसमेत भइसकेको छ। नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: : 2024-03-13 11:28:00

प्रतिकृया दिनुहोस्