विश्वव्यापीरूपमा संस्कृतप्रतिको रुचि र सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा संस्कृतको प्रभावको अन्वेषणका लागि छलफल गर्ने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गरिने भएको छ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेशन, नयाँदिल्लीको संयुक्त आयोजनामा चैत १४ देखि १६ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
आजको विश्वले संस्कृतलाई अध्ययनको विषय बनाउन थालेका सन्दर्भमा सम्मेलनमा छलफल हुनेछ। नेपाल र भारतमा संस्कृतका धेरै विश्वविद्यालय, महाविद्यालय र विद्यालय छन्। नेपाल, भारतबाहेकका विभिन्न विदेशी विश्वविद्यालयमा समेत संस्कृत अध्ययन गर्ने, गराउने धेरै शोधार्थी, प्राध्यापक रहेका छन्।
प्राचीन संस्कृतका ग्रन्थको ज्ञानलाई वर्तमानमा पनि प्रयोग गर्ने परिपाटी विकसित हुँदै आएको छ। विश्वभरिको संस्कृतको नेतृत्व संशाधन एवं जनशक्तिका दृष्टिले नेपाल र भारतले मात्र गर्न सक्छन् र गर्नुपर्दछ भन्ने अपेक्षा विश्वले नै गरेकाले यससम्बन्धी छलफल गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिए।
नेपाल–भारत संस्कृत सम्मेलन यसअघि पनि नेपालमा भएका थिए। नेपालमा विसंं २०२४ मा पहिलो पटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन गरिएको थियो। त्यस सम्मेलनले नेपालमा संस्कृत विश्वविद्यालय स्थापना गरिनुपर्ने घोषणापत्र जारी गरेको थियो।
त्यही सम्मेलनदेखि संस्कृत विश्वविद्यालय स्थापनाका बारेमा बहस सुरु भएको थियो। फलस्वरुप विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना भयो। विसं २०६३ वैशाख ११ गतेको परिवर्तनपछि विश्वविद्यालयको नाम फेरि नेपाल संस्कृत विश्वविद्यालय राखिएको हो।