सफल हुन एलन मस्कबाट सिक्नु पर्ने कुराहरु

photo : Agency
photo : Agency

समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान्। वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी। उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन्।

उनी इन्जिनियर मात्र होइनन् कि नवीकरणीय ऊर्जाबाट चल्ने सवारी साधन एवम् मानवतामैत्री आर्टिफिसियल इन्टेलिजेन्सका समेत वकालतकर्ताका साथै लगानीकर्ता समेत हुन्। उनले नयाँ नामकरण गरेको एक्स अर्थात् ट्विटर एउटा चर्चित नेटवर्क साइट हो। ट्विटर र टेस्ला कम्पनीका माध्यमबाट सङ्कलित डाटा पनि समग्र विश्वकै लागि एउटा ठुलो स्रोत हो, ऊर्जा हो। प्रविधिलाई साधन मान्ने हो भने डाटा चाहिँ सो साधनमा प्रयोग हुने इन्धन वा ऊर्जा नै हो।

सन २०२३ सेप्टेम्बर १२ मा एलन मस्कको बायोग्राफी बजारमा आयो। जीवनी पुस्तक उनले आफैँले भने लेखेका होइनन्। उनका बारेमा जानकारी राख्ने र एकनामी लेखकको चिनारी बनाइसकेका व्यक्तिले प्राप्त सूचनाका आधारमा उक्त बायोग्राफी तयार पारेका हुन्।

सिएनएन र टाइमका पूर्वकार्यकारी अधिकृत वाल्टर आइज्याक्सन नै ती व्यक्ति हुन् जसले मस्कको बायोग्राफी तयार पारे। उनै व्यक्तिले यसअघि पनि लियोनार्दो द भिन्ची, बेन्जामिन फ्रान्कलिन, अल्बर्ट आइन्सटा इन, स्टिभ जब्सको समेत जीवनी लेखन गरिसकेका छन्।

विद्युतीय सवारी साधन, निजी तवरबाट अन्तरिक्षको खोजी र आर्टिफिसियल इन्टेलिजेन्सको दबदबाको समयमा यी तीनवटै विषयमा लगानी गरी सफलसमेत भएका टेकआइकन हुन् एलन मस्क। दक्षिण अफ्रिकाको प्रिटोरियामा सन् १९७१ जुलाई २८ मा जन्मेका उनी १७ वर्षको उमेरमा क्यानडा र पछि अमेरिकामा बसोबास गरेका हुन् भने उनले गरेको खोज, अध्ययन, जोखिमसहितको काममा रमाउने र लगानीबाट भएको प्रतिफलकै आधारमा संसारकै धनी व्यक्ति समेत बन्न सफल उनी सन् २००८ यता निरन्तर चर्चामा रहन सफल छन्।

एलन मस्क संलग्न रहेका कम्पनी

भनिन्छ कि उनी कलेज पढ्दै गर्दा ब्लास्टर नामक सफ्टवेयर बनाएर बेचेका थिए। उनले लगानी गरेको पहिलो कम्पनी जिपटु हो जसलाई कम्प्याक कम्पनीले खरिद गरेको थियो। तत्पश्चात् सुरुमा एक डटकम नाम रहेको र पछि पेपल नामकरण भएको कम्पनीको खासगरी वित्तीय विश्वमा बदलाव ल्याउने उद्देश्यका साथ स्थापना भएको थियो। दुई वर्षमा दुई लाखभन्दा बढी प्रयोगकर्ता भए।

आफ्नो उद्देश्यमा कम्पनी सफल भयो र पछि त्यो कम्पनी पनि ठूलो रकममा बिक्री भयो। यसपछि उनी लसएन्जल्स गए, जहाँ उनले आफ्नो रुचि रहेको अन्तरिक्ष यान सम्बन्धमा अध्ययन गर्न र काम गर्न पाए। उनले अन्तरिक्ष यानसम्बन्धी कम्पनी स्पेश एक्सको स्थापना सन् २००२ मा गरे। सफल प्रयोगपछि नासाले पनि उनको कम्पनीलाई समेत सहकार्यका लागि अनुमति दियो।

न्युरालिङ्क पनि मस्कले अघि बढाएको एउटा परियोजना हो, जसमा मानव ब्रेनमा माइक्रो चिप्स जडान गर्ने लक्ष्य लिइएको थियो। यसको पहिलो प्रयोग सफल भएको भनेर उनले सन् २०२४ जनवरी ३० मा पुष्टि गरेका छन्। यसको लागत सम्बन्धमा विवादहरु भएता पनि अमेरिकी डलर १० हजारमा एउटा चिप्स जडान हुने बताइएको छ। त्यसैगरी, इन्टरनेट सेवालाई सरल र सहज बनाउनका लागि उनले लोअर्विट स्याटेलाइटका रुपमा स्टारलिंक सञ्चालनमा ल्याएर यसमा जोडिन विश्वव्यापी रुपमा आग्रह समेत गरेका छन्।

एआईका सम्बन्धमा पनि उनको चासो छ। जुनसुकै प्रविधि आफैँले राम्रो काम गर्दैन यसका लागि त मानवीय सक्रियता आवश्यक पर्दछ। यदि हामी सजग भएनौँ र सुरक्षाका प्रवन्ध अपनाएनौँ भने एआइले मानवलाई प्रतिस्थापन गर्ने जोखिम छ। उनी संलग्न रहेको ओपन एआईको रिसर्च ल्याव स्थापनाको लक्ष्य भनेकै एआईलाई मानव हित हुने गरी सुरक्षित तबरले विकास गर्ने सम्भावना बढाउनु हो। मस्कको विचारमा एआईको दुरुपयोग गर्नबाट रोक्ने सबभन्दा गतिलो उपाय भनेको बढीभन्दा बढी मानिसहरुको सशक्तीकरण गर्नु हो।

भनिन्छ कि उद्यमी हुने हो भने जोखिम लिन डराउन हुँदैन। मस्क जोखिमयुक्त काम गर्न सदा इच्छुक देखिन्छन्। उनले प्रारम्भ गरेका कम्पनीको प्रकृति हेर्दा जोखिमसँगै खेलेर अगाडि बढेको देखिन्छ। जोखिमको पुर्वानुमान गर्ने र जोखिम व्यवस्थापन गर्ने उनको क्षमता विशेष नै लाग्दछ। यसबाट उनले फाइदा लिन सकेका पनि छन्। २००० वर्ष अगाडि एरिष्टो टलले अगाडि सारेको फस्ट प्रिन्सिपल थिङ्किङ भन्नाले कुनै पनि चिजको मूलभूत आधारहरुको ज्ञान भन्ने बुझिन्छ। धेरैले यो सिद्धान्तको प्रयोग गरेको भएता पनि एलन मस्कले स्पेश एक्समा गरेको प्रयोगलाई सबैले बुझ्दछन्। उनले अन्तरिक्ष यानको मूल्य के कसरी घटाउन सकिन्छ भनेर यो थिङ्किङको प्रयोग गरेका थिए।

एलन मस्क एक इन्जिनियर अनि एक सफल उद्यमी मात्र रहेनन्। उनी त विश्वकै धनी व्यक्ति पनि बने। सन् २०२१ सेप्टेम्बर २७ मा टेस्लाको कमाई अरूको भन्दा अगाडि आयो। पछि यो कम्पनीको बजार मूल्य घटेको हुँदा उनी धनी व्यक्ति भइरहन सकेनन् तर उनी बढी धनी १० जनामा अहिले पनि छन्।

एलन मस्कको जीवनबाट सिक्नुपर्ने विषय

असफल हुनासाथ नआत्तिने र धैर्यतापूर्वक त्यसबाट के कसरी बाहिर निस्कने र सफल कसरी बन्ने भन्ने रणनीति बनाउन सक्ने र निरन्तर आफ्नो मिसनमा अग्रसर हुने व्यक्तिका रुपमा एलन मस्क चिनिन्छन्। टेलिफोन बुकको अवधारणामा स्थापना भएको जिपटु नामक कम्पनीमा सुरुमा लगानी जुटाउन धौ-धौ परेको भएता पनि यसको अनलाइन भर्सन थालनी भएपछि लगानी जुट्यो र उनले यसबाट नाफा कमाएरै छाडे। उनको नवीन क्षमताकै कारण पेपल नामक कम्पनीमा सहलगानी गर्ने अवसर जुट्यो।

सन् १९९९ मा पेपललाई सबभन्दा कमजोर व्यावसायिक आइडिया भनेर समेत प्रचार गरियो तर यसलाई प्रयोगकर्ताको पक्षबाट इनोभेट गरेर अनलाइन वा लेटको रुप दिएपछि भने यसले सफलताको भर्‍याङ्ग चढ्यो। टेस्ला नामक कम्पनी डुब्नै लाग्दा र स्पेश एक्स लगभग अव डुब्यो भनेपछि पनि उनले जसोतसो लगानी जुटाए र अगाडि बढ्ने क्रममा यी दुवैदुवै कम्पनी चर्चाको शिखरमा पुगे र सफल पनि बने। उनको ट्विटरमा रहेको संलग्नता पनि विवादमुक्त रहेन। तथापि उनले ट्विटरलाई पनि चर्चामा ल्याउन सके। यी उदाहरणबाट के देखिन्छ भने यदि आफ्नो रुचिको क्षेत्रमा स्वप्रेरित भएर लागि पर्‍यो भने सफलता टाढाको विषय होइन।

उनको जीवनबाट पाइने आठवटा सन्देशलाई यसरी बुँदामा राख्न सकिन्छ:

– असफलता र त्यसले दिने पीडाबाट सिक। असफलताबाट सिक्दै र धैर्यतापूर्वक कमजोरी हटाएर अगाडि बढ्नु उपयुक्त बाटो हो। यदि असफलता झेल्न सिकिएन भने नवप्रवर्तनकारी बन्न सकिदैन।

– विज्ञ र पुस्तकबाट सिक। कम्पनी वा सङ्गठन राम्रो हुने भनेको राम्रा व्यक्तिहरुबाट नै भन्ने विश्वास उनीमा देखिन्छ।

– महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गर। निजी तबरबाट स्थापना गरिएको स्पेश एजेन्सीले मङ्गल ग्रह कब्जा गर्ने र भविष्यका लागि वैकल्पिक वस्तीको विषय उठान गर्नु कम्ती महत्वाकांक्षी हैन तर उनको क्षमता हेरेर यो विषयलाई उत्सुकतापूर्वक हेरिरहेका छन्। यसरी लक्ष्य राख्दा लामो समयपछि परिणाम आउने प्रोजेक्टका लागि पनि हेरेर अल्पकालीन फाइदाका लागि मात्र मरिमेट्नु हुँदैन भन्ने उनका लक्ष्यहरुले सिकाउँछन्।

– आफ्नो कामको जिम्मा आफैँ लिने गर। आफ्नो जिम्माको काममा हरेक पक्षको जानकारी राख्ने र परिणामप्रति आफुले जिम्मेवारी लिने गर्नु जीवनकै ठूलो कला हो। जुन कुरा गर्नु जरुरी छ त्यो काम तुरुन्त गर। महत्वपूर्ण काममा ढिलाई गर्दा आफू त पछाडि परिन्छ नै। अर्को सोही कामको लागत पनि बढी पर्ने हुन्छ।

– काम गर्ने तरिकालाई सरलीकृत गर। परिवर्तनमा रमाऊ। काम गर्ने तरिका परिवर्तन गरेर पनि आफ्नो प्रोजेक्ट या भनौँ जीवनलाई सरल बनाउन सकिन्छ।

– आफूमा विश्वास राख। आफ्नो सोँच वा लक्ष्यप्रति विश्वास राख्दै निरन्तर र कडा परिश्रमका साथ लागिपर्नु आवश्यक छ। “म गर्न सक्छु” भन्ने दृढ अठोट राख्नु सफलताका लागि महत्वपूर्ण छ।

– हरेक नयाँ काम र आवश्यकता उपर प्रश्न गर। स्वभावतः जुन आवश्यक छ भनिएको छ त्यो गलत हुन्छ। जबसम्म आवश्यक छ भनेर सत्य सावित नभएको होस्।

एलन मस्कले विभिन्न समय र क्रममा अभिव्यक्त गरेका केही भनाइबाट समेत उनको जीवन मार्ग र विचारका सम्वन्धमा अनुमान लगाउन तथा केही सिक्न सकिन्छ। केही भनाइहरु यहाँ समेट्न खोजिएको छ:

–सामान्य व्यक्तिमा समेत असमान्य व्यक्तित्व बन्ने सम्भावना रहन्छ।

– यदि असफलताको अपेक्षा गर्दैनांै भने बुझे हुन्छ कि तिमी नवप्रवर्तनशील छैनौँ।

– सुन्दर र मानवीय भविष्यको लागि अहिले रहेका कतिपय समस्याको समाधानमा मेरो जोड छ। म पैसैका लागि मरिमेट्ने गर्दिन।

– अन्तत्वगत्वा म मङ्गल ग्रहमा मर्न चाहन्छु।

– लामो समय पर्खने कामका लागि हाम्रो जीवन छोटो छ।

–आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमले हामी राक्षसलाई काबुमा ल्याउँदैछौँ।

– धैर्यता निकै राम्रो गुण हो, म धैर्यवान् बन्न सिकिरहेको छु।

– कुनै काम सम्भव छ भन्ने स्थापित गर्नु पहिलो पाइला हो, त्यसपछि त काम बन्ने सम्भावना हुन्छ नै।

– कतिपय अवस्थामा कुनै व्यक्तिको ब्रेनलाई ज्यादा र उसको व्यक्तित्वलाई कम महत्व दिनु मेरो त्रुटी हो।

– यो संसारमा धेरै राम्रा पुस्तक र मानिसहरु छन्। म पुस्तक पढ्छु र मानिसहरुसँग सल्लाह लिन्छु, सिक्छु।

– सरकारले लगानी गर्छ भनेको सर्वसाधारण जनताकै तर्फबाट लगानी हो किनकि सरकारसँग हुने भनेकै जनताले तिर्ने कर वा शुल्कको पैसा हो।

फेरि पनि उनकै कुरा

‘स्पेसएक्स’को स्थापनाअघि उनले ८० प्रतिशत मेहनत इन्जिनियरिङको अध्ययन र प्रयोगमा व्यतीत गर्थे भनिएको छ। उनले स्वयम् अध्ययनबाटै स्पेसक्राफ्टका चिफ इन्जिनियर भएका हुन्। भनिन्छ कि उनले एक महिनामा ६० वटासम्म पुस्तक अध्ययन गरे।

एलन मस्कको हालसम्मको जीवनबाट भनौँ या उनको जीवनशैली, अभिव्यक्ति, जीवन भोगाइबाट सिक्ने बुझ्ने र अवलम्बन गर्ने भनेको जीवनलाई कसरी महत्वपूर्ण तर नवीन क्षेत्रहरुमा प्रवेश गराउने, मानव मात्रका लागि कसरी उपयोगी हुने गरी काम गर्ने तथा जरुरी कामहरुमा के कसरी प्रस्तुत हुने भन्ने नै देखिन्छ।

उनीमा घमण्ड देखिँदैन तर काम गर्ने दृढ इच्छा शक्ति भने पाइन्छ। विश्वविद्यालयको कक्षामा नगएर पनि सिक्न सकिन्छ भन्ने सिद्ध गर्ने उनी थप एक उदाहरण हुन्। भनिन्छ कि एलन मस्कको माइन्डसेट एवम् उद्यमी र काम गर्ने तरिका नै समस्या समाधान गर्ने खालको छ। भविष्यमा पनि मानव मात्रको हितका लागि उनका सफलताका कथा पढ्न पाइने आशा गर्न सकिन्छ।

- नेत्र सुवेदी ‘प्रयास’ (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता हुनुहुन्छ)

प्रकाशित मिति: : 2024-04-10 13:23:00

प्रतिकृया दिनुहोस्