काठमाडौँ आइपुगे कतारका राजा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणका क्रममा मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्।

थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका छन्।

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

उनको सम्मानमा विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हो। उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदासमेत दिएको छ।

प्रकाशित मिति: : 2024-04-23 15:52:00

प्रतिकृया दिनुहोस्