सिरहामा रिसइबीका कारण छिमेकीकाे ३ वर्षीया छोरीकाे हत्या, आमाछोरी पक्राउ

सिरहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन्।

गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राति छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

दुई परिवारबीच घरायसी झगडाहुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2024-04-29 15:17:00

प्रतिकृया दिनुहोस्