काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई रु १०/१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

उनले भने, 'आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ।'

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए। साथै वैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ।

प्रकाशित मिति: : 2024-05-04 20:15:00

प्रतिकृया दिनुहोस्