भन्सार घेराउका क्रममा प्रहरी र आजपा कार्यकर्ताबीच झडप, २० जनाभन्दा बढी पक्राउ

विभिन्न माग गर्दै भन्सार विभागमा शान्तिपूर्ण धर्ना र घेराउ गर्दै आएका आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र प्रहरीबीच आज (सोमबार) झडप भएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ र धर्ना दिँदै आएका आन्दोलनकारीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी आजपा केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन्।

यस्तै आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साह, नेताहरु आर्य पाण्डे, चन्द्रिकालाल साह, देवकुमारी साह, कनक सिंह, मिनादेवी साह, विरवल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुणकुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिशोर साह, रामकिशोर साह, उमेश साह, रामनारायण साह लगायतलाई प्रहरीले पक्राउ गरेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन्।

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गरेर आन्दोलन गरिरहेको छ। अहिले चौथो चरणको आन्दोलन चलेको छ। चौथो चरणको आन्दोलनको आज ११औँ दिन हो।

आजपाले अब भन्सारको लुटकारी प्रावधान खारेजीमा सरकार सकारात्मक नबने कडा आन्दोलन चाल्ने र आन्दोलनबाट उत्पन्न हुनै सबैखाले परिस्थितिको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने चेतावनी आजपा नेतृ रञ्जु साहले दिएकी छन्।

भन्सारमा कथित पुरस्कारको नाममा लुट्ने काम भएको र निजी सम्पत्ति कब्जा गर्ने काम भएको आजपाको ठहर छ। भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको व्यवस्था खारेज गर्नुपर्नेलगायतका माग आजपाले गर्दै आएको छ।

आजपाले भन्सार नियन्त्रणको नाममा तराई/मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानूनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गत भदौदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ।

आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमार्फत सरकारसमक्ष प्रस्तुत गरिएका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानून, राजस्व कानून र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने रहेका छन्।

यस्तै, मागमा भन्सार महशुल नबुझाएकै कारण निजी सम्पत्ति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने पनि समावेश गरिएको छ।

भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने आजपाको माग रहेको छ।

प्रकाशित मिति: : 2024-05-13 18:13:00

प्रतिकृया दिनुहोस्