भारतकी ‘राजमाता’ किरण राज्य लक्ष्मीदेवी राणाको निधन

भारतको मध्यप्रदेश ग्वालियर राजघरानाकी राजमाता माधवी राजे सिंधियाको बुधबार निधन भएको छ।

प्रधानमन्त्री जुद्ध शमशेरकी नातिनी सिंधियाको सन् १९६६ मा माधवराव सिंधियासँग विवाह भएको थियो। उनको ग्वालियर विरासतका अन्तिम शासक महाराजा जीवाजीराव सिंधियाका पुत्र माधवराव सिंधियासँग विवाह भएको थियो। अर्कालाई हेर्न नपाएरै यिनीहरूको विवाह भएको थियो।

सन् ६० को दशकको त्यो शाही विवाह दिल्लीमा खुबै चर्चामा थियो। भारत सरकारले यी जोडीको विवाहमा ग्वालियरदेखि दिल्लीसम्म जन्तीका लागि विशेष रेल सेवा उपलब्ध गराएको थियो।

नेपालमा उनी प्रिन्सेस किरण राज्यलक्ष्मी देवीका नामले चिनिन्थिइन्। मराठी परम्परा अनुसार विवाहपछि उनी माधवी राजे सिंधियाको नामले चिनिन्थिइन्। जुद्ध शमशेर कमान्डर इन् चीफ धीरशमशेरका १७ भाइ छोराहरु मध्येका १५औँ भाइ थिए।

सिंधियालाई उनका पति माधवराव सिंधियाको निधनपछि राजमाता भन्न थालिएको थियो। ७५ वर्षीया सिंधियाको दिल्लीस्थित एम्स अस्पतालमा केही महिनायता उपचार चलिरहेको थियो। उनको बुधबार बिहान भारतीय समयअनुसार ९ बजेर २८ मिनेट जाँदा निधन भएको हो।

भारतको ग्वालियर सिंधिया राजपरिवारका राजकुमार माधवराव सिंधियासँग विवाह भएपछि राज्यलक्ष्मी देवी महारानी माधवी राजे सिंधिया भईन्। भारत सरकारका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिंधियाकी आमा हुन्।

उनका पति पूर्व केन्द्रीय मन्त्री माधव राव सिंधियाको ३० सेप्टेम्बर सन् २००१मा उत्तर प्रदेशको मैनपुरी क्षेत्रमा हवाई दुर्घटनामा ५६ वर्षको उमेरमै मृत्यु भएको थियो। सन् १९८६मा राजिव गान्धिको सरकारमा उनी पहिलोपटक रेलमन्त्री भएका थिए।

माधवराव सिंधियाले मध्यप्रदेशको गुणा सिटबाट ९ पटक चुनाव जितेका थिए। माधवराव सिंधियाले सन् १९८४मा भारतीय जनता पार्टीका अटलविहारी वाजपेयीलाई ग्वालियरमा पराजित गरेका थिए।

उनका एक छोरा जो भारत सरकारका मन्त्री ज्योतिरादित्य सिंधिया र एक छोरी चित्रंगदा सिंह छन्।

पतिको दुर्घटनामा मृत्यु भएपछि माधवी राजे सिंधिया राजनीतिमा आउन सक्ने चर्चा भएपनि उनले छोरा ज्योतिरादित्यलाई राजनीतिमा अघि बढाइन्। माधवराज सिंधियाकी आमा विजयाराजे सिंधिया जनसंघकी संस्थापक सदस्य मध्ये एक थिइन्। तर माधवराव सिंधिया कांग्रेसको राजनीतिमा जमेका थिए।

ज्योतिरादित्य सिंधियाले पिताको राजनीतिक मार्ग वदलेर सन् २०२० देखि भारतीय जनता पार्टीमा छन्। त्यसका लागि आमा माधवी राजे सिंधियाको भूमिका अहम रह्यो। माधवराव सिंधियाकी चार दिदीबहिनीमध्ये वसुंधरा राजे सिंधिया राजस्थानमा मुख्यमन्त्रीसमेत भएकी थिइन्।

रशीद किदवईको पुस्तक ‘द हाउस अफ सिंधियाज- ए सागा अफ पावर, पलिटिक्स एण्ड इन्ट्रीग’मा सिंधिया परिवारको विषयमा विस्तृतमा पढ्न सकिन्छ। राजमाता सिंधियाको पार्थिव शरीर बुधवार ग्वालियरमा अन्तिम संस्कार गरिनेछ।

प्रकाशित मिति: : 2024-05-15 18:12:00

प्रतिकृया दिनुहोस्