जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैनः गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन्।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए।

उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए।

सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उनले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिए।

‘प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवासुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ’, उनले भने।

सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रुपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: : 2024-05-24 13:34:00

प्रतिकृया दिनुहोस्