नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र बजेटकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
आज बस्ने प्रतिनिधसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो।
'आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराउँदछु', एमाले प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेकाे ह्विपमा भनिएकाे छ।
बैठकमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै आज सांसदहरुले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने तथा विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।