नेकपा एमालेकी सांसद ईश्वरी जीएमले पछिल्लो समय डिजिटल भुक्तानी बढ्दा दैनिकी सहज भएपनि यसको विश्वास जोगाइराख्ने चुनौती देखिएकाे बताएकी छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै सांसद ईश्वरी जीएमले यस्ताे बताएकी हुन्।
वालेटहरुले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो अवैध सुनसँग जोडिएको बताइन्। डिजिटल भुक्तानीमार्फत अवैध सुनको रकम भुक्तानी गरेको भेटिएको उनकाे दाबी छ।
‘नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते सूचना जारी गरेर सजिलो पे र पे वेलको सम्पूर्ण बैंक खाताहरु रोक्का गर्यो। यी वालेटहरुले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो ७ सय १६ ग्राम अवैध सुनसँग जोडिएको छ। यीनै कम्पनीमार्फत अवैध सुनको रकम भुक्तानी गरेको भेटिएको थियो’, सांसद जीएमले भनिन्।
वालेट कम्पनीहरूले युटिलिटी पेमेन्ट नगरी अर्बौ रुपैयाँ अवैध रहेको हुण्डी कारोबार गरेको भन्दै उनले भनिन्, ‘यी कम्पनीले स्थापनाकालदेखि १ खर्ब २३ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेका थिए। यो रकममध्ये ९६ अर्ब रुपैयाँ बराबरको रकम भौचर डिपोजिटबाट भएको देखियो। वालेटबाट बैंकमा र बैंकबाट वालेटमा कारोबार गर्नुपर्ने रकम सिधै भौचरबाट डिपोजिट गरिएको थियो जुन अवैध हो। वालेट कम्पनीहरूले युटिलिटी पेमेन्ट नगरी अर्बौ रुपैयाँ अवैध रहेको हुण्डी कारोबार गरेको देखिएको हो।’
नेपालमा २ दर्जन बढी वालेट कम्पनी रहेको भन्दै उनले यसकाे प्रभावकारी नियमन र अनुगमनका लागि सभामुखमार्फत सम्बन्धीत निकायको गम्भिर ध्यानकर्षण गराइन्।