संसदीय सुनुवाइ समितिले प्रस्तावित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन नगर्दै सत्तारुढ दल नेपाली काँग्रेस र एमालेले संस्थागत रुपमा अस्वीकार गर्ने निर्णय गरेको छ।
यौन दुर्व्यवहार मुद्दामा मिलापत्र गरेको आरोप लागेपछि प्रधानलाई आयुक्त नबनाउन चर्को दबाब परेको भन्दै उनीहरुले उक्त निर्णय गरेका हुन्।
काँग्रेस–एमालेले अस्वीकार गर्ने निर्णय गरेपछि निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समिति निवेदन दिएका छन्।
प्रधानबारे निर्णय लिन सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो। यसअघि बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो।
बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो। तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन्।
प्रधानमाथि महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ। पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन्। सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए।
यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको थियो।