अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।
बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १५४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार यसका साथै कर्णाली प्रदेशमा ५१ जना, कोशी प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा ३४ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ११ जना, मधेश प्रदेश र काठमाडौं उपत्यकामा १०–१० जना गरेर जम्मा १८६ जना घाइते भएका छन्।
घाइतेलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरी प्रवक्ता डीआईजीपी कार्कीले बताए। उनका अनुसार कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २६ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिाम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा १०८ जनाको उद्दार गरिएको छ।
बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १–१ जना गरी ४७ जना वेपत्ता भएका छन्। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६१ घर, ९५ गोठ, ४३ पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ। यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २३८ घर परिवार विस्थापित भएका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा भइरहेको र विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ।