देशमा गैरकानुनी ढंगले अरु पोषिने र राज्य लुटिने अवस्था रह्याे: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशमा गैरकानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्था रहेको बताएका छन्।

आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई जवाफ पनि आइसकेको जानकारी गराए।

उनले मन्त्रालय र तारागाउँ समितिको काम गर्ने सिलसिलामा ढिलासुस्ती र पहलकदमीको कमी देखिएको बताए।

‘राज्यलाई क्षति पुर्याउनेगरी विभिन्न निकायहरु गलत अभ्यासहरु हुने गरेको देखिन्छ। इतिहास हेर्दा संस्थाकै रुपमा अगाडि बढेको देखिन्छ। तारागाउँ रिजेन्सी होटल्सलगायतसँगको सबै वास्तविकता र तथ्यहरु मन्त्रालयलाई जवाफ पनि आइसकको अवस्था छ,’ उनले भने, ‘अख्तियारमा पनि उजुरी परेको र अख्तियारले केही निर्देशन मन्त्रालयलाई र तारागाउँ समितिलाई दिइसकेको छ। मन्त्रालय  र तारागाउँ समितिले काम गर्ने सिलसिलामा आफ्नै पनि ढिलासुस्ती र पहलकदमीको कमी देखियो। त्यसैले यसको विस्तृत अध्ययन गर्नुपर्ने, निचोडमा पुग्नुपर्ने र गैर कानुनी ढंगले अरु कोही पोषिने र राज्य लुटिने अवस्थाबाट मुक्त गरिनुपर्छ।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘तारागाउँको नाममा धेरै जग्गा जमिन हेटाल रिसोर्ट राखेको छौँ। त्यो सबै सरकारको निम्ती बोझ भएको छ कि? राजश्वआउन बाधक बनेको छ कि। केही कर्मचारीलाई रोजगारी प्रदान गर्ने र राज्यले पाल्ने मात्रै भएको छ कि? त्यसको बारेमा जानकारी राख्नुपर्छ।’

‘व्यस्थापन राम्रोसँग गर्नुपर्यो। निजी क्षेत्रलाई दिने हो भने दिनुपर्छ, होइन भने नेपाल सरकारले पूरै प्रयोग गर्नुपर्यो। बोझको रुपमा रहन भएन। यो तारागाउँको जग्गाको विषय उठिरहेको छ। हयात होटलले लिनका लागि राज्यको सेयर घटाउँदै लगिरहेको छ। २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिसकेको छ’, उनले भने। सांसद प्रेम सुवालले समितिबाट नै तारागाउँमा गएर अवलोकन गर्नुपर्ने औँल्याए।

प्रकाशित मिति: : 2024-08-11 15:51:00

प्रतिकृया दिनुहोस्