दाङकाे तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले सडकमै पुगेर गरिबलाई खेद्न थालेका छन्।
उनीहरू बुधबार उपमहानगरको प्रहरीसहितको दलबल लिएर सडकमा निस्किएका हुन्।
उनीहरूले सडकमा निस्किएर तुलसीपुर बजारकाे सडक पेटीमा राखिएको सामान जफत गरे। यसअघि उपमहानगरले सार्वजनिक सूचना निकालेर सडक पेटीमा कुनै सामान नराख्न भनेको थियो।
तर उपमहानगरको सूचनालाई अटेर गरेको भन्दै उपमहानगरको प्रहरीले केहीको ठेलाको तरकारीहरू जफत गर्यो।
अहिले जनताको सरकार भनिएका स्थानीय तहहरू गरिब नागरिकमाथि निर्मम भइरहेका छन्।
काठमाडौँ महानगरपालिकाले जस्तै अन्य जिल्लाका पालिकामा पनि त्यसकै सिको गर्दै सडक व्यापार गर्नेमाथि जनप्रतिनिधिहरू निर्मम भइरहेका छन्।
साँझ-बिहान खानका लागि दिनभर श्रम गर्नेलाई स्थानीय सरकारले गरेको व्यवहारप्रति अधिकारकर्मीहरू चिन्ता व्यक्त गर्छन्।