लेबनान-इजरायल युद्ध: सर्वाेच्च कमाण्डर मारिएपछि हिज्बुल्लाह र इरानले अब के गर्लान्?

Break n Links
इजरेली आक्रमणमा मारिएका हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्ला।

लेबनानमा हिज्बुल्लाहका एक उच्च नेता मारिएपछि इजरायलुसँगको लडाईंले अर्को भयानक मोड लिनसक्ने भन्दै विश्वका शक्ति राष्ट्रहरूले चिन्ता व्यक्त गरेका छन्। 

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नेक्रममा हिज्बुल्लाहका ती नेताको मृत्युलाई ‘ऐतिहासिक मोड’ भनेका थिए। त्यसक्रममा इजरायलका आलोचक राष्ट्रका प्रतिनिधिहरूले उठेर होहल्लासहित विरोध जनाएका थिए। 

शुक्रबार इजरायलले गरेकाे एउटा आक्रमणमा हिज्बुल्लाहका बरिष्ठ नेता हसन नसरल्लाहसहित उच्चस्तरका कमाण्डरहरू मारिएको पुष्टि भइसकेको छ। त्यसमा इजरायलसँग ‘पूरै बदला’ लिने चेतावनी हिज्बुल्लाहले दिएको छ। 

हिज्बुल्लाहका ती उच्चअधिकारीको मृत्युपछि इजरायलले भने कैयौ इजरेली नागरिक तथा अन्य विदेशी नागरिकको मृत्युको ‘हिसाब किताब बराबर’ भएको भन्दै थप आक्रमणको चेतावनी दिएको छ। 

यो युद्धमा अब इरान तथा अमेरिका पनि आमनेसामने हुनसक्ने स्थिति देखिएको छ। 

लेबनानको सबैभन्दा शक्तिशाली हतियारबन्द संगठन हिज्बुल्लाहले आफ्ना नेताको मृत्युको बदला लिनसक्ने चेतावनीका कारण थप युद्ध भयानक हुनसक्ने भन्दै दुबै देशका नागरिकले बासस्थान छोड्न थालेका छन्। 

इजरायलसँगको युद्धमा हिज्बुल्लाहले एकपछि अर्को गर्दै ठूलो क्षति ब्यहोर्दै आइरहेको छ। एकपछि अर्को गर्दै कमाण्डरहरू मारिन थालेपछि हिज्बुल्लाहको सैन्य संगठनमा अहिले चेन अफ कमाण्ड भत्किन थालेको आंकलनहरू गरिएका छन्। त्यसअघि ताररहित कम्युनिकेसन डिभाइस (पेजर) तथा वाकीटकीको श्रृङ्खलावद्ध विष्फोटमा पनि उसले धेरै क्षति ब्यहोरिसकेको छ। इजरायलले ब्यापकरुपमा गर्दै आएको हवाइ आक्रमणका कारण हिज्बुल्लाहका कतिपय ‘आश्रयस्थल’हरू तथा हतियारसमेत नष्ट भएका छन्। 

‘हसन नसरल्लाहको मृत्युपछि त्यसको नतिजा भयानक हुनसक्छ। अहिले नै त्यसको आंकलन गर्न कठीन छ’ अमेरिकामा रहेका मध्यपूर्व मामलाका सुरक्षा विशेषज्ञ मोहम्मद अल वासा भन्छन् ‘यसमा अब या त हिज्बुल्लाहको संगठनभित्र अस्थिरता पैदा हुनसक्छ वा त्यसको नजिता आगामी दिनमा यसले कस्तो सैन्य तथा राजनीतिक रणनीतिहरू तय गर्छ भन्ने कुरामा निर्भर रहन्छ।’ 

इरानले लेबनानमा जन्माएको हिज्बुल्लाह कसरी यति शक्तिशाली भयो?

तर कतिपय विश्लेषकहरूले हिज्बुल्लाहले यति चाँडै हार मानेर पछि हट्छ भन्ने सोच्नु गलत सावित हुने बताउँछन्। ऊसँगै अहिले पनि त्यस्ता हतियारधारी हजारौं लडाकुहरू छन् जसले अन्तिम समयसम्म इजरायलसँग लड्ने कसम खाएका थिए। उनीहरू अहिले आफ्ना नेता र कमाण्डको मृत्युको बदला लिने भनेर झन् उत्तेजित भइरहेका छन्। 

हसन नसरल्लाहको मृत्यु जति हिज्बुल्लाहका लागि ठूलो चोट हो त्यो भन्दा अझ ठूलो चोट इरालनका लागि पनि हो। इरानले उनको मृत्युपछि पाँच दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ। उसले आफ्ना नेता अयातुल्लाह अलि खामेनेइलाई पनि सुरक्षित स्थानमा भूमिगत गराइसकेको छ। इरानका यिनै सर्वोच्च नेताको परिकल्पनामा हिज्बुल्लाह जन्मिएको थियो र उसका लडाकुहरूलाई प्रारम्भिक प्रशिक्षण पनि खामेनेइकै सैनिकहरूले दिएका थिए। अहिले पनि कतिपय क्षेप्यास्त्र तथा अरु हतियारहरू हिज्बुल्लाहलाई इरानले नै दिँदै आएको छ। 

गत जुलाइमा तेहरानको एउटा गेस्ट हाउसमा हमासका एकजना उच्चस्तरीय नेता इस्माइल हनियाको हत्या भएको थियो। हनिया हमासका बरिष्ठ राजनीतिक रणनीतिकार पनि हुन्। त्यो ‘षड्यन्त्र’पूर्ण हत्यापछि इरान मौन छ। 

इरानसँग मध्यपूर्वका कैयौ देशमा तैनाथ हजारौ त्यस्ता लडाकुहरूको संगठन छ जसलाई ‘प्रतिरोधी दस्ता’ अर्थात् एक्सिस अफ रेसिस्टेन्ट’ भनिन्छ। हिज्बुल्लाहका अलाव यमनको हूति विद्रोही तथा सिरिया र इराकमा रहेका कैयौ विद्रोही संगठनलाई पनि इरानको समर्थन छ। इरानले अब यो हत्याको बदला लिनका लागि ती संगठनहरूलाई इजरायलविरुद्धको आक्रमणमा उतार्नसक्छ। 

इजरायलले यसअघि नै हिज्बुल्लाहलाई सखाप पारिछोड्ने चेतावनी दिइसकेको छ। र लेबनानमाथि भइरहेका हवाइ आक्रमणहरूलाई उसले त्यहाँको भूमिमा छिर्नका लागि आफूले बाटो बनाइरहेको भन्ने प्रतिक्रिया दिएको छ। 

अमेरिकाले इजरायललाई समर्थन दिँदै आएको छ। तर केही दिनअघि अमेरिकासहित १२ देशहरूले २१ दिनका लागि गरेको युद्धबिराम प्रस्तावलाई इजरायलले अस्वीकार गरिसकेको छ। 

इजरायलले अब जमिनबाटै प्रवेश गरेर आफ्ना सैनिकहरूले हिज्बुल्लाहलाई आत्मसमर्पण नगराउँदासम्म आक्रमणहरू जारी राख्ने बताएको छ। 

तर इजरायली सेना हिज्बुल्लाहसँग जमिनमै लड्न निकै कठीन हुनेछ। किनकि युद्ध नचर्किएका करिब १८ वर्षहरूमा हिज्बुल्लाहका लडाकुहरूले युद्ध प्रशिक्षण निकै कडारुपमा गरेका थिए। 

कहिले थामिलएला यो युद्ध: ‘बिराम’का लागि ११ देशको प्रस्ताव

प्रकाशित मिति: : 2024-09-30 07:40:00

प्रतिकृया दिनुहोस्