ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई डिल्लीबजार कारागार चलान गरिएको छ।
मंगलबार जिल्ला अदालत काठमाडौँले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएकाे हाे।
गण्डकी प्रदेशका सांसदसमेत रहेका उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी ५ वर्ष कैद सजाय सुनाएकाे थियाे।
मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार बिहान पक्राउ गरेकाे हाे।
उनीमाथि २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेप छ।
२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेशसभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए भने पटक–पटक मन्त्रीसमेत भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।