सरकारविरुद्ध काठमाडौँमा आजपाकाे प्रदर्शन

आम जनता पार्टी (आजपा)ले सरकारविरुद्ध आज पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुन: कमलादीमै पुगेर सम्पन्न भएको हो।

प्रदर्शनकारीले ‘कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दावाद, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दावाद, तेस्रो जनआन्देलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पत्ति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अवैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर’जस्ता नारा लगाएका छन्।

यस्तै ‘शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दावाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दावाद, दोस्रो स्थापना दिवस सफल पारौं’लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्।

आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाएको हो। दलाल दलतन्त्रविरुद्ध तेस्रो जनआन्दोलनको संकल्पसहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदैछ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापाको नेतृत्वमा प्रदर्शन भएको हो। 

सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धरासायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए।

‘मुलुकको उद्योग, व्यापार धरासायी बन्दै गइरहेको छ। सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ। उद्योग व्यापार धवस्त हुँदै गइरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाइलापाइलामा कर लिने तर सेवा नदिने। कर लिने तर सोही अनुसारको सुविधान नदिने। केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ।’ 

नेपालभन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिइरहेको उनले बताए। तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए। 

प्रकाशित मिति: : 2024-12-29 14:29:00

प्रतिकृया दिनुहोस्