धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ: सीके राउत

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले  मात्र मनाउने भेषभुषा नभएको बताएका छन्।

उनले आज सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन्।

उनले  भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाहिँ कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन। सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन्।’

साथै, उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे।

कार्यक्रममा सबैजना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए।

उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: : 2025-01-01 14:40:00

प्रतिकृया दिनुहोस्