विद्यालय शिक्षा ऐन टुङ्ग्याएर प्रतिनिधिसभामा पुर्याउन बिहानैदेखि शिक्षा समितिले छलफल सुरु गरेको छ। नेपाल शिक्षक महासंघसँग सरकारले यसअघि असार १५ सम्ममा उक्त ऐन पारित गर्ने सहमति गरेको थियो।
महासंघको आह्वानमा देशभरिका शिक्षकहरूले काठमाडौंमा एक महिनाभन्दा लामो आन्दोलन गरेका थिए। आन्दोलनकै कारण तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। त्यसपछि शिक्षामन्त्री भएका रघुजी पन्तले महासंघसँग सहमति गरेका थिए। उक्त सहमतिअनुसार आजसम्ममा त्यो ऐन प्रतिनिधिसभाले पारित गर्नुपर्छ।
संसदको शिक्षा समितिले बिहानैदेखि सहमति हुन नसकेका विषयहरूमा छलफल सुरु गरेको छ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आजै प्रतिनिधिसभामा विद्यालय शिक्षा ऐन पेश गर्ने जानकारी दिएका छन्।
समितिको छलफल चलिरहँदा शिक्षक महासंघका प्रतिनिधिहरू पनि सिंहदरबार पुगेर सांसदहरूलाई दबाव दिइरहेका छन्।