मोहन बस्नेत हाजिर भए विशेष अदालतमा, आजै थुनछेक बहस हुने

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव नेपाली काँग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर भएका छन्। 

एक महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

यो मुद्दा तामेलीमा छैन। तर बस्नेतले अदालतमा उपस्थित हुन पाउँ भन्दै निवेदन दिएका थिए। उनको बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ। 

यसअघि पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि यही प्रक्रियाबाट विशेष अदालतमा उपुस्थित भएका थिए। र सोही दिन उनलाई ३५ लाख धरौटी लिएको थियो।

दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा संलग्न भएको आरोपमा अख्तियारले बस्नेतहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालिन सञ्चारमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर एकल निर्णय गरी कार्यान्वयनका लागि प्रधिकरणलाई निर्देशन दिएको अख्तियारको ठहर छ। मन्त्रीको निर्देशन अनुसार दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी कानुन विपरीत काम गरेको अख्तियारले दाबी गरेको छ।

बस्नेतसहितविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिरहँदा उक्त प्रकरणमा जोडिएका चर्चित राजनीतिक पात्रहरू र पूर्व प्रशासकहरूले भने उन्मुक्ति पाएका छन्।
 

प्रकाशित मिति: : 2025-06-29 13:33:00

प्रतिकृया दिनुहोस्