काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन्।
उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन्। उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि। उनको नाम हो–दाफुटी शेर्पा।
दोलखाको सिमि गाउँमा जन्मिएकी दाफुटीको बाल्यकाल सरल थिएन। तर सपना भने विशाल थिए। उनले सानैदेखि कर्ममा विश्वास गरिन् , ‘जुनसुकै कठिन परिस्थिति किन नहोस्, आफ्नो सपना देख्न नछोड्नु,’ भन्ने अठोटले उनको जीवनलाई मोड दियो।
एसएलसीपछि उच्च शिक्षाको सपना बोकेर उनी काठमाडौं आइन्। नयाँ शहर, अपरिचित परिवेश, जिम्मेवारीको भारी—सबैसँग जुध्नुपर्यो। आमाबुबाको आशिर्वादसँगै भाइबहिनीको जिम्मेवारी पनि काँधमा थियो।
एकदिन उनले ‘मितिनी कफी’ नामक कोरियन क्याफेमा जागिरको सूचना पाइन्। कोरियनजस्तो देखिने मानिसको खोजीमा रहेको क्याफेमा शेर्पा अनुहार मिल्ने भएकाले सजिलै जागिर पाइन्।
उनले भनिन्,‘त्यहाँ काम गर्दै जाँदा उनले प्लेटफर्महरु प्राप्त गर्न सफल भइन्। उनले भर्खरै खोलिएका क्याफेहरुमा विभिन्न ट्रेनिङहरु समेत दिन थालिन।
‘मैंले काम खोज्ने क्रममा एउटा कोरियनले नेपालमा खोलेको एउटा मितिनी कफी भन्ने थियो। बारिष्टको रुपमा काम गर्ने, हेर्दा कोरियन जस्तो देखिने मानिस खोजिरहनु भएको रहेछ। मैंले एउटा दाईको माध्यमबाट थाहा पाए। मेरो लुक्स मिल्ने भएको कारण सजिलै त्यहाँ राखियो। कलेज जाँदै काममा जाँदै गर्नथालें। मैले त्यहाँ राम्रोसँग काम गरेको हुनाले धेरै प्लेटफर्महरु पाए। मैंले नेपालमा विस्तारै विस्तारै कफी सपहरु खोल्दै जाने, सपहरुमा कफी मेसिन कसरी चलाउने ? मेसिनहरुको मेन्यूहरु कसरी बनाउने? भन्ने सिकाउने प्लेटफर्महरु पाए।’
सन् २०१२ बाट सुरु भएको त्यो कामले उनलाई न केवल आर्थिक रूपमा उभ्यायो, बरु कफी संसारप्रति गहिरो मोह जगायो।
उनको जीवनको अर्को ठूलो मोड २०१७ मा आयो। जब उनले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य बनाएर सगरमाथाको शिखरमै कफी पस्किने सोच बनाइन्। तर सगरमाथा चढ्न ३० लाख लाग्थ्यो। उनीसँग २० हजार समेत थिएन्।
‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मुल नाराको साथमा चाँही नेपालको कफी चिनाउन क्याम्पेन सुरु गरें। क्याम्पेन सुरु गर्दा धेरै समस्याहरु आए। जसमा २०–३० लाख पैसा लाग्ने भयो। तर म सँग २०–३० हजार समेत थिएन।
घरमा सल्लाह त गरें तर घरमा कोही हुनुहुन्न थियो। हिमाल आरोहण गर्ने क्षेत्रमा कोही थिएनन्। तर बुवा शिक्षक भएकाले पैसा मिलाउनुहुन्छ भन्ने मलाई विश्वास थियो। उहाँहरुले नजाउँ, हिमालमा गएपछि मान्छे फर्किएर आउँछ की आउँदैन भन्ने नै हुँदैन। कति धेरै मान्छे मरिराखेका हुन्छन्। किन जाने ? पढ्नुपर्छ भनेर भन्नु भयो,’ उनले विगत कोट्याइन्।
परिवारमा कुरा राख्दा हिमाल चढ्न जोखिम भएका कारण उनले सपोर्ट पाइनन्। यस्तो अवस्थामा उनको सपना कुनैपनि हालतमा पूरा हुने अवस्था नै थिएन। तर उनले आफ्नो सपनालाई जीवित राख्न अनेक उपाय र जुक्तिहरु लगाउन थालिन्।
एकदिन नेपाली कफीहरुको लागि ‘म एभरेष्ट चढ्दैछु सहयोग गर्नुस्’ भनेर फेसबुक लाइभ बसेर सहयोग मागिन्। त्यहाँबाट ६० प्रतिशत रकम संकलन भयो। बाँकी रकम उनले भर्खरै सुरु गरेको कफी सप धितोमा राखेर जुटाउने सोच बनाइन्।
यसरी ‘हाम्रो सगरमाथा, हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मुल नाराको साथ २४ मे २०१८ मा एभरेष्टमा गएर दुई विदेशी र दुई जना आरोहीहरुलाई कफी बनाएर पिलाउँदै आफ्नो सपना पूरा गर्न सफल भइन्।
उनले भनिन्, ‘२४ मे २०१८ मा एभरेस्टमा गएर दुई जना विदेशी र दुईजना आरोहीहरुलाई कफी बनाएर पिलाउन पनि सफल भएँ।’
सगरमाथा आरोहणपछि काठमाडौं फर्किंदा एयरपोर्टमा कृषकदेखि व्यापारीसम्मले उनलाई सम्मान गरे। उनी भन्छिन्, ‘कफीले मलाई सगरमाथा पुर्यायो र सगरमाथाले मलाई जीवनको नयाँ पहिचान दियो।’
दाफुटीले मकालु, आमादब्लम, लोबुचे, अन्नपूर्ण–१ जस्ता हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेकी छिन्। उनी सगरमाथा चढ्ने पहिलो महिला बारिस्टा पनि हुन्।
दाफुटीले अहिले आफ्नै तीनवटा कफी फेन्चाइज सञ्चालन गरिरहेकी छिन्।
करिब दुईसय जना युवालाई वारिस्टा, बारटेन्डर र कुकिङ तालिम दिइसकेकी छिन्। उनी हाल बागमती प्रदेश सरकारसँग मिलेर ४० जना महिलालाई कफी तालिम दिइरहेकी छिन्।
उनको अर्को सपना–नेपाली कफीलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने। ‘हामी विदेश जानुपर्ने होइन, विदेशीलाई नै यहाँ ल्याएर हाम्रो कफी पिलाउनुपर्छू’ उनी भन्छिन्।
दाफुटी आफ्नो अनुभवमा बताउँछिन्,‘पहिला जहाँ हिउँ देखिन्थ्यो, अहिले त्यहाँ चट्टान देखिन्छ। खाल्डोमा परेर हराउने धेरै घटना भइरहेका छन्। जलवायु परिवर्तन हिमाल चढ्नेलाई थप जोखिम बनिरहेको छ।’
उनी दोलखा जिल्लामा कफी खेतीको ठूलो सम्भावना देख्छिन्, ‘गाउँपालिकाले खाली जग्गा सदुपयोग गरे, स्थानीय रोजगारी सिर्जना हुन्छ। युवा विदेश जानु पर्दैन,’ उनी दृढतापूर्वक भन्छिन्।
दाफुटी शेर्पाको कथा केवल सफलताको होइन, आँट, संघर्ष, र अठोटको कथा हो। उनका लागि कफी व्यवसाय मात्र होइन, यो नेपालको आत्मनिर्भरताको, पहिचानको, र भविष्य निर्माणको अभियान हो।