जम्बो टोलीसहित प्रधानमन्त्री साताब्यापी भ्रमणमा निस्किए, आधा घन्टा विमानस्थलमा उडान अवतरण बन्द

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली २ दर्जनबढी जम्बो टोली लिएर एक साता लामो भियतनाम र कम्बोडिया भ्रमओमा निस्किएका छन्।

केही समयअघि नेपाल वायुसेवा निगमको चार्टर विमानबाट प्रधानमन्त्री ओलीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

प्रधानमन्त्री ओलीलाई विदाई गर्न त्रिभुवना अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुबास नेम्वाङ, मन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरू पुगेका थिए।

त्यस अवसरमा उनलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीको एक साता भ्रमणमा चार दिन भियतनाम र तीन दिन कम्बोडियामा बित्ने छ ।

साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा ओली औपचारिक भ्रमणमा त्यसतर्फ लागेका हुन्।

भियतनाममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी फुकसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘अन्तराष्ट्रिय बुद्धिष्ट सम्मेलन’ लाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सो सम्मेलनमा भारतका उपराष्ट्रपति बैंकट नाईडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसहितको उच्च राजनीतिक नेतृत्वको सहभागिता हुनेछ। बुद्धको जन्मस्थल लुम्विनी र शान्तको सन्देशलाई विश्वभर फैल्याउन सो सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भियतनामसँग तीन वटा समझदारी गर्ने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्धिपक्षीय परामर्श संयन्त्र निर्माणका विषयमा समझदारी गर्ने तयारी गरिएको हो ।

भियतनामको हनोइबाट प्रधानमन्त्री ओलीको भ्रमण दल ३० वैशाखमा कम्बोडियाको न्होमपेन जाने कार्यक्रम तय भएको बताइएको छ। प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन्।

त्यसैगरी कम्बोडियाको भ्रमणका क्रममा द्धिपक्षीय हवाई उडानसम्बन्धि विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल हुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत छन्।

दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीकाे उडानकाे समयमा बिहान ११ बजेदेखि ११ः३० विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण सेवा ठप्प भएको थियो।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार भिभिआइपी सवारीलाई लक्षित गर्दै विमानस्थल उडान बन्द गराएको हो।

यसअघि भिभिआइपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकाेमा यात्रुहरुलाई थप सास्ती नहाेस् भन्दै ३० मिनेट मात्रै बन्द गर्न लागिएकाे पनि उनले जानकारी दिए।

यसअघि अघिल्लाे सातामात्रै राष्ट्रपति विद्यादेवी भण्डारी चीनकाे राजकीय भ्रमणमा जाँदा ताेकिएकाे समयभन्दा लामाे समय विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य गरी १ सय ३० भन्दा बढी उडान प्रभावित भएका थिए।

प्रकाशित मिति: : 2019-05-09 12:20:02

प्रतिकृया दिनुहोस्